Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

स्थानीय तहमा गैरदलीय व्यवस्था आवश्यक रहेको वक्ताहरूको जोड

स्थानीय तहमा गैरदलीय व्यवस्था आवश्यक रहेको वक्ताहरूको जोड

काठमाडौँ । स्थानीय तहलाई जनमुखी, पारदर्शी र प्रभावकारी बनाउन गैरदलीय व्यवस्था आवश्यक रहेकोमा विभिन्न वक्ताहरूले जोड दिएका छन्। राजधानीमा पिपुल फर्स्ट पार्टीद्वारा आयोजित कार्यक्रममा उनीहरूले स्थानीय सरकारमा बढ्दो दलीयकरणले भ्रष्टाचार, पक्षपात र कुशासनलाई प्रोत्साहन गरेको आरोप लगाए।

‘स्वतन्त्र स्थानीय तह अभियान’का संयोजक सनोज महतले संघ र प्रदेशमा दलीय व्यवस्था उपयुक्त भए पनि स्थानीय तहलाई स्वतन्त्र र गैरदलीय बनाउनुपर्ने धारणा राखे। उनले वर्तमान व्यवस्थामा जनप्रतिनिधिभन्दा दलगत स्वार्थ हाबी भएको दाबी गरे।

कार्यक्रममा पिपुल फर्स्ट पार्टीका संयोजक प्रशान्त सिंहले स्थानीय सरकारमा दलतन्त्र ‘रोग’ जस्तै बनेको टिप्पणी गर्दै स्वतन्त्र नेतृत्व भएका केही स्थानीय तहले राम्रो नतिजा दिएको उदाहरण प्रस्तुत गरे।

वरिष्ठ पत्रकार ऋषि धमलाले देशका विभिन्न स्थानीय तहको अवस्थाले जनतामाथि दलीयकरणको प्रभाव देखिएको उल्लेख गर्दै आगामी निर्वाचनमा स्वतन्त्र उम्मेदवारीको वातावरण सुनिश्चित गर्नुपर्ने बताए।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले स्थानीय सरकारमा दलहरूको अत्यधिक प्रभावका कारण जनतामा असन्तुष्टि बढेको जिकिर गरे। यस्तै, अधिवक्ता विकास ठाकुरले स्थानीय सरकारलाई गैरदलीय बनाउने प्रतिबद्धताबाट केही राजनीतिक दल पछि हट्न खोजेको आरोप लगाउँदै यस विषयमा स्पष्ट धारणा आवश्यक रहेको बताए।

कार्यक्रममा सहभागी वक्ताहरूले स्थानीय तहमा स्वतन्त्र तथा गैरदलीय अभ्यासले सुशासन, जवाफदेहिता र जनविश्वास बढाउन सहयोग पुग्ने धारणा व्यक्त गरेका थिए।