Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

सुदूरपश्चिममा आज नयाँ बजेट सार्वजनिक हुँदै, हालसम्मकै सबैभन्दा ठूलो बजेट ल्याउने तयारी

सुदूरपश्चिममा आज नयाँ बजेट सार्वजनिक हुँदै, हालसम्मकै सबैभन्दा ठूलो बजेट ल्याउने तयारी

काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि आज नयाँ बजेट सार्वजनिक गर्ने भएको छ। प्रदेश सभाको बैठकमा अपराह्न ४ बजे आर्थिक मामिला मन्त्री विक्रमसिंह धामीले बजेट तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

यस पटक प्रदेश सरकारले हालसम्मकै ठूलो आकारको बजेट ल्याउने तयारी गरेको बताइएको छ। बजेटको आकार बढाउन चालु आर्थिक वर्षमा हुने अनुमानित बचतलाई मुख्य आधार बनाइएको छ। प्रदेश नीति तथा योजना आयोगका सदस्य नृपबहादुर सुनारका अनुसार चालु वर्षको बजेटबाट कम्तीमा ८ अर्ब रुपैयाँ बचत हुने अनुमान छ।

आन्तरिक राजस्व वृद्धि, वनजन्य कच्चा पदार्थ तथा गिट्टी–बालुवाबाट प्राप्त हुने आम्दानीलाई पनि बजेट विस्तारको आधार मानिएको छ। चालु आर्थिक वर्षमा प्रदेशको आन्तरिक राजस्व १ अर्ब ६५ करोड रुपैयाँ रहने अनुमान गरिएको थियो।

सरकारले सांसदहरूबाट आयोजना तथा बजेट प्रस्ताव संकलन गरिसकेको छ भने उनीहरूका लागि ३ अर्ब २९ करोड रुपैयाँ बराबरको बजेट छुट्याइसकेको जनाइएको छ। मुख्यमन्त्री कमलबहादुर शाहले आगामी बजेटमा २५ लाख रुपैयाँभन्दा कम लागतका आयोजना समावेश नगर्ने घोषणा गरेका छन्।

मुख्यमन्त्री शाहको नेतृत्वमा यो तेस्रो बजेट हुनेछ। यसअघि पूर्वमुख्यमन्त्री दीर्घबहादुर सोडारीको नेतृत्वमा प्रस्तुत बजेट भने प्रदेश सभाबाट पारित हुन सकेको थिएन।