काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासँग जर्मनी सरकारका उच्च अधिकारी तथा नेपालस्थित जर्मन राजदूतले शिष्टाचार भेटवार्ता गरेका छन्। भेटमा स्वास्थ्य क्षेत्रको विकास, पूर्वाधार विस्तार र द्विपक्षीय सहकार्यका विषयमा छलफल भएको छ।
भेटमा जर्मनीको Federal Ministry of Economic Cooperation and Development (BMZ) अन्तर्गत South Asia Division तथा Development प्रमुख बारबरा शेफर र नेपालका लागि जर्मनीका राजदूत उडो फोल्ज सहभागी थिए। साथै, KfW, GIZ र PTB नेपालका प्रतिनिधिहरूको पनि उपस्थिति रहेको थियो।
छलफलका क्रममा नेपाल–जर्मनीबीचको लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्ध, स्वास्थ्य सेवा सुदृढीकरण तथा विकास परियोजनामार्फत जर्मनीले गर्दै आएको सहयोगबारे समीक्षा गरिएको थियो।
मन्त्री मेहताले नेपालको स्वास्थ्य क्षेत्रको विकासमा जर्मनी सरकारको निरन्तर सहयोगप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि साझेदारी अझ सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो।
जर्मन प्रतिनिधिमण्डलले नेपालको विकास प्राथमिकताअनुसार आगामी दिनमा समेत सहयोग र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको मन्त्रालयले जनाएको छ।