Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

सुशासन, प्रविधिमैत्री सेवा र जनमुखी प्रशासनमा जोड दिन राष्ट्रपतिको आह्वान

सुशासन, प्रविधिमैत्री सेवा र जनमुखी प्रशासनमा जोड दिन राष्ट्रपतिको आह्वान

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मूल उद्देश्य सुशासनमार्फत प्रभावकारी सेवा प्रवाह, तीव्र विकास, शान्ति र समृद्धि सुनिश्चित गर्नु रहेको बताएका छन्।

लोकसेवा आयोगको ७६औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले राज्य संयन्त्रलाई समयानुकूल, जनमुखी, सेवामुखी, प्रविधिमैत्री र परिणाममुखी बनाउनुपर्ने आवश्यकता औंल्याए।

राष्ट्रपति पौडेलले स्वउत्प्रेरित, अनुशासित, नैतिक र जिम्मेवार कर्मचारीले मात्रै प्रशासनलाई प्रभावकारी बनाउन सक्ने उल्लेख गर्दै प्रविधि र स्मार्ट सेवा प्रवाहमार्फत नागरिकको विश्वास जित्नुपर्नेमा जोड दिए।

उनले लोकसेवा आयोगप्रतिको भरोसा र निष्पक्षताको परम्पराले योग्य युवाहरूलाई लोकतान्त्रिक प्रणालीप्रति आशावादी बनाएको उल्लेख गर्दै त्यसलाई अझ मजबुत बनाउनुपर्ने बताए।

योग्यता प्रणालीको संरक्षण, आधुनिक परीक्षण विधिको अवलम्बन तथा कर्मचारी छनोट प्रक्रियालाई समयानुकूल बनाउनु आयोगको प्रमुख जिम्मेवारी भएको पनि राष्ट्रपति पौडेलको भनाइ थियो।

कार्यक्रममा उनले आयोगको कार्यसम्पादन प्रशंसनीय रहेको उल्लेख गर्दै भविष्यमा अझ प्रविधिमैत्री, वैज्ञानिक र प्रभावकारी ढंगले काम गर्नुपर्ने सुझाव दिएका छन्।