काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि स्वीटजरल्याण्डका राजदूत ड्यानिएल मेउलीले शिष्टाचार भेटवार्ता गरेका छन्। सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा शिक्षा क्षेत्रमा द्विपक्षीय सहकार्य विस्तार, विकास सहायता परिचालन तथा प्राविधिक शिक्षाको सुदृढीकरणबारे छलफल भएको हो।
भेटमा स्विस सरकारले नेपालमा लामो समयदेखि प्राविधिक तथा व्यावसायिक शिक्षा क्षेत्रमा गर्दै आएको सहयोगको समीक्षा गरिएको थियो। विशेषगरी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT) मार्फत सञ्चालित विभिन्न परियोजनाहरूको प्रभावकारिताबारे पनि चर्चा भएको मन्त्रालयले जनाएको छ।
स्विस एजेन्सी फर डेभलपमेन्ट एन्ड को–अपरेसन (SDC) को सहयोगमा सञ्चालित राष्ट्रिय व्यावसायिक योग्यता प्रणाली, सीप विकास तथा रोजगार प्रवर्द्धन र प्राविधिक तथा व्यावसायिक शिक्षा सुधारसम्बन्धी परियोजनाहरू हाल कार्यान्वयनमा रहेका छन्।
मन्त्री पोखरेलले नेपाल–स्विस सम्बन्ध सधैं सौहार्दपूर्ण रहेको उल्लेख गर्दै शिक्षा क्षेत्रमा निरन्तर सहयोगप्रति आभार व्यक्त गर्नुभयो। उहाँले प्राविधिक शिक्षालाई समयसापेक्ष बनाउन कानुनी तथा नीतिगत सुधार अघि बढिरहेको जानकारी पनि दिनुभयो।
स्विस राजदूत मेउलीले नेपाल सरकारको प्राथमिकताअनुसार शिक्षा क्षेत्रमा सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाउँदै सञ्चालनमा रहेका परियोजनाहरूलाई थप प्रभावकारी बनाउने तयारी रहेको बताउनुभयो।