काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालय तथा मातहतका निकायबाट सेवा लिँदा तोकिएको शुल्कभन्दा अतिरिक्त रकम माग भए प्रमाणसहित तत्काल उजुरी गर्न सेवाग्राहीलाई आग्रह गरेका छन्।
उनले मन्त्रालयको हटलाइन नम्बर ११५१ मा गुनासो दर्ता गर्न सकिने जानकारी दिँदै सेवा प्रवाहलाई पारदर्शी र जवाफदेही बनाउन यस्तो व्यवस्था प्रभावकारी हुने बताएका हुन्।
मन्त्री श्रेष्ठले पदभार ग्रहण गरेयता गुनासो सुनुवाइलाई प्राथमिकतामा राख्दै सेवा सुधारका प्रयास तीव्र पारेका छन्। मन्त्रालयका अनुसार हटलाइनमार्फत हालसम्म १३ हजार ८८ वटा गुनासो सम्बोधन भइसकेका छन्।
उक्त गुनासोमध्ये विद्युत् अवरोध, ट्रान्सफर्मर बिग्रिनु, पोल तथा मिटर अभाव र भूमिगत विद्युत् जडानसम्बन्धी समस्या प्रमुख रहेका छन्।
त्यस्तै, मन्त्रालयले सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ अनुसार ‘सुशासन एकाइ’ गठन गरी सेवा प्रवाह, कर्मचारी कार्यसम्पादन र स्रोत उपयोगको नियमित अनुगमन गरिरहेको जनाएको छ।
मन्त्रालयले डेलिभरी–आधारित शासन प्रणालीलाई प्राथमिकतामा राख्दै सेवा सुधार र उत्तरदायित्व अभिवृद्धिमा जोड दिएको छ।