Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

हर्क साम्पाङको लाइसेन्स नभएको खुलासा, लाइसेन्स सन् २०१६ यता नवीकरण नगरेको दाबी

हर्क साम्पाङको लाइसेन्स नभएको खुलासा, लाइसेन्स सन् २०१६ यता नवीकरण नगरेको दाबी

काठमाडौँ ।हर्क साम्पाङको सवारी चालक अनुमति पत्र (लाइसेन्स) नै नभएको प्रमाण फेला परेको छ। साम्पाङले सन् २०१६ यता लाइसेन्स नवीकरण नगरेको दाबी गरिएको छ। साथै, त्यसअघि पनि उनले जम्मा २ पटक मात्र नवीकरण गरेको पाइएको छ। अहिले सम्म उनले लाइसेन्स बिना नै सवारी साधन चलाइरहेको पाइएको हो भने ट्राफिक प्रहरीका अनुसार हर्क साम्पाङ माथि यतिबेला अनुसन्धान भइरहेको छ ।

नेपालमा लाइसेन्सबिना सवारी साधन चलाउनु कानुनविपरीत मानिन्छ र यस्तो अवस्थामा जरिवानादेखि थप कानुनी कारबाहीसम्म हुन सक्छ। दुर्घटनाको अवस्था आएमा लाइसेन्स नहुनु गम्भीर कानुनी पक्षका रूपमा हेरिन्छ।

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६० अनुसार लाइसेन्स बिना सवारी चलाउने व्यक्तिलाई रु. ५०० देखि रु. २,००० सम्म जरिवाना गरिन्छ।ट्राफिक प्रहरीले लाइसेन्स जाँच गर्दा साथमा नभेटिएमा जरिवाना तिराई रसिद काटेर गाडी वा कागजपत्र नियन्त्रणमा लिन सक्छ।

लाइसेन्स नभएको व्यक्तिले सवारी चलाएर दुर्घटना गराएमा, सवारी धनीसमेत जिम्मेवार ठहरिन्छन्। सर्वोच्च अदालतको नजिर अनुसार लाइसेन्स बिनाको चालकले गराएको दुर्घटनामा कानुनी प्रक्रिया र क्षतिपूर्ति अझ कठोर हुने गर्दछ।

केही दिनअघि उदयपुरतर्फ जाँदा साम्पाङले सवारी चलाउँदै मोबाइल प्रयोग गरेको भिडियो सार्वजनिक भएपछि ट्राफिक प्रहरीले उनलाई कारबाही गरी ५०० रुपैयाँ जरिवाना गरेको थियो। उक्त घटनापछि पुनः लाइसेन्ससम्बन्धी प्रश्न उठ्दा विषयले थप चर्चा पाएको छ।

हाल सार्वजनिक भएका दाबीहरूबारे सम्बन्धित निकायबाट आधिकारिक पुष्टि वा अन्तिम निष्कर्ष आउन बाँकी छ।