Jul 19 2026 | २०८३, श्रावण ३ गते

Jul 19 2026 | २०८३, श्रावण ३ गते

महाशिला गाउँपालिकाका किसानले गरे २० महिनामै ८ करोडको कृषि उपज बिक्री

महाशिला गाउँपालिकाका किसानले गरे २० महिनामै ८ करोडको कृषि उपज बिक्री

काठमाडौं । पर्वतको महाशिला गाउँपालिकाका किसानले पछिल्लो २० महिनामा सागसब्जी, खसीबोका, स्थानीय कुखुरा र दूध बिक्रीबाट करिब ८ करोड रुपैयाँ आम्दानी गरेका छन्। जिल्लाकै सानो र विकट मानिने यस पालिकाका ८८३ कृषक यसबाट लाभान्वित भएका छन्।

गाउँपालिकाका अनुसार यहाँ उत्पादन भएका कृषि उपज पर्वतको कुश्मा, स्याङ्जा र पोखरा बजारमा बिक्री हुँदै आएका छन्। विशेषगरी महाशिलाका स्थानीय उत्पादन स्वास्थ्यकर मानिने भएकाले उपभोक्ताको उच्च माग रहेको बताइएको छ।

कृषकलाई प्रोत्साहन गर्न गाउँपालिकाले सागसब्जीमा प्रतिकिलो ५ रुपैयाँ, मासुजन्य वस्तुमा प्रतिकिलो २५ रुपैयाँ र दूधमा प्रतिलिटर १० रुपैयाँ अनुदान उपलब्ध गराउँदै आएको छ। साथै, उत्पादनको सही मापनका लागि विभिन्न टोलमा ३३ वटा तराजु वितरण गरिएको छ।

गोठ र बाख्राको खोर सुधारमा ५० प्रतिशत अनुदान, कृषि ऋणको ब्याजमा सहुलियत तथा उत्पादन संकलनका लागि बजार प्रतिनिधि परिचालन गरिएपछि व्यावसायिक कृषिप्रति किसानको आकर्षण बढेको पालिकाले जनाएको छ। तरकारी खेती गर्ने कृषकले वार्षिक न्यूनतम २ लाखदेखि १० लाख रुपैयाँसम्म आम्दानी गरिरहेको जनाइएको छ।