Jul 20 2026 | २०८३, श्रावण ४ गते

Jul 20 2026 | २०८३, श्रावण ४ गते

स्थानीय तहका समस्या समाधानमा मन्त्री रावल, मधेशका मुख्यमन्त्रीसगँ गरिन् छलफल

स्थानीय तहका समस्या समाधानमा मन्त्री रावल, मधेशका मुख्यमन्त्रीसगँ गरिन् छलफल

काठमाडौँ । स्थानीय तहमा देखिएका समस्या समाधान र संघ, प्रदेश तथा स्थानीय तहबीचको समन्वयलाई प्रभावकारी बनाउने विषयमा भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला मन्त्रालय र मधेश प्रदेश सरकारबीच उच्चस्तरीय छलफल भएको छ।

भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावल र मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवबीच भएको भेटमा स्थानीय तहका कर्मचारी व्यवस्थापन, दरबन्दी मिलान, बजेट तर्जुमा तथा प्रशासनिक चुनौतीबारे विस्तृत रूपमा छलफल भएको हो।

मुख्यमन्त्री यादवले स्थानीय तहमा देखिएका समस्याबारे आफू जानकार रहेको उल्लेख गर्दै ती समस्या समाधानका लागि प्रदेश सरकारबाट आवश्यक पहल गर्ने प्रतिबद्धता जनाउनुभयो।

मन्त्री रावलले स्थानीय तहको बजेट तर्जुमा प्रक्रियालाई व्यवस्थित बनाउन मन्त्रालयले तीन जना सहसचिवको नेतृत्वमा टोली परिचालन गरी स्थलगत सहजीकरण गरेको जानकारी दिनुभयो। ती टोलीले पालिका तहमा पुगेर जनप्रतिनिधिसँग छलफल गर्दै समस्या र आवश्यकताबारे विवरण संकलन गरेको उहाँले बताउनुभयो।

उहाँले संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय बिना समस्या समाधान सम्भव नहुने उल्लेख गर्दै स्थानीय सरकारलाई अझ व्यवस्थित र नागरिकमुखी बनाउन मन्त्रालयले पहल जारी राख्ने बताउनुभयो।

छलफलमा मन्त्रालयका सचिव, सहसचिव तथा प्रतिनिधि सभा सदस्य रहोवर अन्सारीलगायतको उपस्थिति रहेको थियो।