Jul 21 2026 | २०८३, श्रावण ५ गते

Jul 21 2026 | २०८३, श्रावण ५ गते

मन्त्री डा. विक्रम तिमिल्सिनाः हुलाक सेवा अब प्रविधिमैत्री, ‘सरकारी कुरियर’ बनाउँदै नागरिकको घरदैलोमा सेवा विस्तार

मन्त्री डा. विक्रम तिमिल्सिनाः हुलाक सेवा अब प्रविधिमैत्री, ‘सरकारी कुरियर’ बनाउँदै नागरिकको घरदैलोमा सेवा विस्तार

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्री डा. विक्रम तिमिल्सिनाले हुलाक सेवालाई आधुनिक, विश्वसनीय र नागरिकमैत्री बनाउँदै सरकारी सेवा नागरिकको घरदैलोमै पुर्‍याउने प्रभावकारी माध्यमका रूपमा पुनर्स्थापित गरिएको बताएका छन्।

हुलाक सेवा विभागद्वारा आयोजित ‘हुलाक सेवाको आधुनिकीकरण सम्बन्धी उच्चस्तरीय संवाद कार्यक्रम’ मा बोल्दै मन्त्री तिमिल्सिनाले परम्परागत हुलाक सेवालाई प्रविधिमैत्री ‘सरकारी कुरियर सेवा’का रूपमा विकास गरी सेवा प्रवाहलाई सहज बनाइएको जानकारी दिए।

उनका अनुसार सरकार हुलाक सेवाको पुनर्जागरणका लागि योजनाबद्ध रूपमा अघि बढिरहेको छ र त्यसका सकारात्मक नतिजा देखिन थालेका छन्। डिजिटल प्रविधिको विस्तारले हुलाकको महत्व घटाएको नभई अझ समयअनुकूल रूपान्तरणको आवश्यकता बढाएको उनले बताए।

मन्त्री तिमिल्सिनाले सार्वजनिक सेवा प्रभावकारी बनाउन सरकारी र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै संस्थागत सुधारका लागि कर्मचारीको इच्छाशक्ति र सेवामुखी कार्यशैली अनिवार्य भएको बताए। राहदानी, सवारी चालक अनुमतिपत्रलगायत कागजात घरमै पुर्‍याउने व्यवस्थाले नागरिकको समय, लागत र झन्झट घटाएको उनले उल्लेख गरे।

सचिव लक्ष्मीकुमारी बस्नेतले डिजिटल युगमा पनि हुलाक सेवाको महत्व कायमै रहेको बताउँदै हालसम्म सात सरकारी निकायसँग सेवा विस्तारका लागि समझदारी भइसकेको जानकारी दिइन्। महानिर्देशक मनमाया भट्टराई पंगेनीले “घरघरमा हुलाक, मनमनमा हुलाक” अभियानमार्फत सेवा नागरिकमैत्री बनाइएको र सरकारी कागजात घरमै पुर्‍याउने सेवा प्रभावकारी बन्दै गएको बताइन्।

सरकारले शासकीय सुधारअन्तर्गत हुलाक सेवालाई ‘स्मार्ट हुलाक’ र ‘गभर्मेन्ट कुरियर सर्भिस’मा रूपान्तरण गर्ने नीति कार्यान्वयन गरिरहेको छ, जसअन्तर्गत विभिन्न सरकारी कागजात नागरिकको घरदैलोमै पुर्‍याउने व्यवस्था विस्तार भइरहेको छ।