काठमाडौँ । सरकारले बर्दिया जिल्लाबाट जग्गाधनी प्रमाणपूर्जा (लालपुर्जा) वितरण अभियान सुरु गरेको छ। पहिलो चरणमा बढैयाताल गाउँपालिका–४ का २९ जना भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासी परिवारलाई लालपुर्जा प्रदान गरिएको छ।
लालपुर्जा प्राप्तसँगै लाभग्राहीहरू कानुनी रूपमा जग्गाधनी बनेका छन्। यसले उनीहरूलाई बैंकिङ सेवा, ऋण सुविधा तथा अन्य सरकारी सेवा सहज रूपमा प्राप्त गर्ने बाटो खुलेको छ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधान सरकारको प्राथमिकतामा रहेको बताउँदै बर्दियाबाट सुरु भएको अभियान क्रमशः देशभर विस्तार गरिने र वास्तविक भूमिहीन नागरिकलाई कानुनी जग्गा स्वामित्व प्रदान गरिने जानकारी दिइन्।