काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरिकुमारी यादवले नेपाली मौलिक तथा रैथाने उत्पादनको संरक्षण र अन्तर्राष्ट्रिय पहिचानका लागि आवश्यक कानुनी व्यवस्था अघि बढाउने प्रतिबद्धता जनाएका छन्।
मन्त्री यादव र खाद्य तथा कृषि संगठन (FAO) का नेपाल प्रतिनिधि केन सी भी जुबीच भएको शिष्टाचार भेटवार्तामा नेपालका विभिन्न क्षेत्रका रैथाने वस्तुको ब्रान्डिङ, संरक्षण र स्थायित्वका विषयमा छलफल भएको हो।
भेटमा भौगोलिक संकेत (GI) प्रणालीको महत्त्वबारे चर्चा गर्दै FAO प्रतिनिधिले अधिकांश देशमा लागू भइसकेको जीआई व्यवस्था नेपालमा अझै प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको बताउनुभयो। नेपाली उत्पादनको जीआई दर्ता नहुँदा अन्य देशले ती ब्रान्ड दर्ता गर्ने अवस्था आएको भन्दै उहाँले तत्काल कानुनी व्यवस्था आवश्यक रहेको औंल्याए।
मन्त्री यादवले रैथाने उत्पादनको संरक्षणका लागि कानुन निर्माण प्रक्रिया अघि बढाउने र कानुन मन्त्रालयसँग सहकार्य गरी आवश्यक विधेयक तयार गर्ने जानकारी दिए।