काठमाडौँ । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले राष्ट्रिय बाल अधिकार परिषद्मा छड्के अनुगमन गर्दै नौ बुँदे निर्देशन दिएकी छन्। बिहीबार बिहान मन्त्रालय र मन्त्रीको सचिवालयको टोलीसहित पुल्चो कस्थित परिषद् कार्यालय पुगेकी उनले बाल संरक्षण, बाल अधिकार प्रवर्द्धन तथा संस्थागत सुधारका विषयमा आवश्यक निर्देशन दिएकी हुन्।
पूर्वसूचना बिना मन्त्री कार्यालय पुगेपछि परिषद्का कर्मचारी आश्चर्यमा परेका थिए। जोखिममा रहेका बालगृहबाट बालबालिकाको उद्धार तथा व्यवस्थापन प्रभावकारी हुन नसकेको भन्दै मन्त्री बादीले असन्तुष्टि व्यक्त गरिन्। उनले अर्को निर्णय नभएसम्म नयाँ बालगृह सञ्चालनको अनुमति नदिन निर्देशन दिँदै बालबालिकाको सुरक्षा पहिलो प्राथमिकता हुनुपर्ने बताइन्।
मन्त्री बादीले परिषद्का सबै कर्मचारीको कार्यविवरण तथा आफूले पदभार ग्रहण गरेको दिनदेखि असार १८ गतेसम्म सम्पन्न भएका कामको विवरण सात दिनभित्र मन्त्रालयमा पेश गर्न पनि निर्देशन दिएकी छन्।