Jul 23 2026 | २०८३, श्रावण ७ गते

Jul 23 2026 | २०८३, श्रावण ७ गते

डोल्पाको जगदुल्ला जलविद्युत् आयोजनाको मुख्य सुरुङ निर्माण सुरु

डोल्पाको जगदुल्ला जलविद्युत् आयोजनाको मुख्य सुरुङ निर्माण सुरु

काठमाडौँ । डोल्पामा निर्माणाधीन १०६ मेगावाट क्षमताको जगदुल्ला अर्धजलाशययुक्त जलविद्युत् आयोजनाले नयाँ चरणमा प्रवेश गरेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री विराजभक्त श्रेष्ठले बिहीबार मुख्य सुरुङ निर्माणको औपचारिक शुभारम्भ गरेका हुन्।

मुड्केचुला गाउँपालिका–४ इलामा आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले आयोजना कर्णाली प्रदेशको ऊर्जा उत्पादन, पूर्वाधार विस्तार र आर्थिक विकासका लागि महत्वपूर्ण बन्ने बताउँदै निर्धारित समयमै सम्पन्न हुने विश्वास व्यक्त गरे। ऊर्जा मन्त्रालयकी सचिव सरिता कुमारी दवाडीले पनि स्थानीय समुदायको सहयोगले आयोजना अघि बढ्न सहज भएको उल्लेख गरिन्।

जगदुल्ला हाइड्रोपावर कम्पनीका अनुसार आयोजना ‘जनताको जलविद्युत् कार्यक्रम’ अन्तर्गत सरकारी, स्थानीय र स्वदेशी लगानीमा निर्माण भइरहेको हो। कम्पनीले डोल्पामा १०६ मेगावाटको जगदुल्ला र १२४.३५ मेगावाटको जगदुल्ला–ए गरी कुल २३०.३५ मेगावाट क्षमताका दुई आयोजना विकास गरिरहेको जनाएको छ।

आयोजनासँगै सडक, पुल र अन्य पूर्वाधार निर्माणले डोल्पाको यातायात, स्थानीय अर्थतन्त्र र पर्यटन प्रवर्द्धनमा समेत सकारात्मक प्रभाव परेको कम्पनीको दाबी छ। आयोजना सञ्चालनमा आएपछि संघ, प्रदेश र स्थानीय तहले वार्षिक करोडौँ रुपैयाँ रोयल्टी प्राप्त गर्ने अपेक्षा गरिएको छ।