काठमाडौँ । कोशी अस्पतालको सरकारी जग्गा अतिक्रमणमुक्त बनाउने अभियानलाई सरकारले तीव्र बनाएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता र गृहमन्त्री सुधन गुरुङले आइतबार अस्पतालको स्थलगत निरीक्षण गर्दै अवैध संरचना एक साताभित्र हटाउने निर्णय गरेका हुन्।
निरीक्षणपछि भएको छलफलमा सरकारी तथा सार्वजनिक जग्गामा बनेका संरचना कानुनअनुसार हटाइने र त्यसका लागि स्थानीय प्रशासन तथा सुरक्षा निकाय परिचालन गरिने जनाइएको छ।
मन्त्री मेहताले अस्पताल प्रशासनले जारी गरेको १५ दिने सूचना सकिँदासमेत संरचना खाली नगरिनु दुःखद् भएको बताउँदै अस्पतालको सम्पत्ति संरक्षण र पूर्वाधार बिरामीको सेवामा उपयोग हुनुपर्नेमा जोड दिइन्।
अस्पताल प्रशासनका अनुसार अस्पतालको जग्गामा नेपाल रेडक्रस सोसाइटी, नेपाल क्षयरोग निवारण संस्था, गणेश मन्दिर समिति र देवकोटा पुस्तकालयले स्थायी संरचना निर्माण गरी केही भाग व्यावसायिक प्रयोजनमा समेत प्रयोग गर्दै आएका छन्।
यसअघि शनिबार मन्त्री मेहताले अस्पतालको अनुगमन गर्दै विशेषीकृत आँखा अस्पताल स्थापनाको तयारी, सरसफाइ, पूर्वाधार व्यवस्थापन तथा निर्माण कार्यलाई समयमै सम्पन्न गर्न निर्देशन दिएकी थिइन्।