सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्री मंगलबहादुर शाही बन्ने भएका भएका छन् । केन्द्रमा एमाले र नेकपाको सत्ता साझेदारी, मन्त्रालयको भागबन्डा र साझा कार्यक्रमका विषयमा सहमति जुटेसँगै अब कर्णालीमा मुगु प्रदेश सभा (ख) बाट निर्वाचित सांसद मंगलबहादुर शाही मुख्यमन्त्री बन्ने भएका हुन् ।
यसअघि कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले शनिबार मात्रै पदबाट राजीनामा दिए । शनिबार बसेको प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै उनले राजीनामा घोषणा गरेका हुन् । मुख्यमन्त्री कँडेलविरुद्ध नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टीले अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । नेकपा कर्णाली प्रदेश संसदीय दलका नेता समेत रहेका मंगलबहादुर शाही यसअघि २०७९ माघ ११ गते राजकुमार शर्मा नेतृत्वको मन्त्रिपरिषद्मा भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री बनेका थिए। शाही कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्नेछन् । यस अघि महेन्द्र बहादुर शाही, जीवन बहादुर शाही, राजकुमार शर्मा र यामलाल कँडेलले मुख्यमन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् ।
यसैबीच मुख्यमन्त्री कँडेलले राजीनामा दिएपछि प्रदेश प्रमुख यज्ञराज जोशीले नयाँ सरकार गठनका लागि मुख्यमन्त्री पदमा दाबी पेश गर्न आह्वान गरेका छन् । प्रदेश प्रमुखको कार्यालयका अनुसार मुख्यमन्त्री कडेलले नेपालको संविधानको धारा १६९ को उपधारा (१) को खण्ड (क) बमोजिम शनिबार साँझ ५ बजे लिखित राजीनामा दिएका थिए। उक्त राजीनामा प्रदेश प्रमुख यज्ञराज जोशीले सोही मितिदेखि लागू हुने गरी स्वीकृत गरेका छन् ।
राजीनामा स्वीकृत भएसँगै प्रदेश प्रमुखले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई मुख्यमन्त्री पदका लागि दाबी पेश गर्न आह्वान गरेका हुन् । प्रदेश प्रमुखको कार्यालयले जारी गरेको पत्रअनुसार इच्छुक प्रदेश सभा सदस्यले साउन १२ गते साँझ ५ बजेसम्म मुख्यमन्त्री पदका लागि आफ्नो दाबी पेश गर्नुपर्नेछ ।