काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफ्ना मुख्यमन्त्री र प्रदेशका सभापतिलाई छलफलमा बोलाएका छन् ।
नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकार सञ्चालनका लागि सहमति भएपछि थापाले मुख्यमन्त्री र प्रदेशका सभापतिलाई छलफलमा बोलाएका हुन् । सभापति थापा र उपसभापति विश्वप्रकाश शर्माले आज बिहान साढे ९ बजे उनीहरूसँग छलफल गर्ने जनाइएको छ ।
बैठक अन्य दुई ठूला पार्टी मिलेपछि प्रदेश सरकारको विषयमा आफ्नो पार्टीको धारणा बनाउनका लागि आयोजना गरिएको जनाइएको छ ।
कांग्रेसले हाल चार प्रदेश सरकारको नेतृत्व गरेको छ ।
शनिबार भएको सहमति अनुसार एमालेले कोशी, बागमती र लुम्बनी तथा नेकपाले कर्णाली र सुदूरपश्चिम सरकारको नेतृत्व गर्ने तय भएको छ । बाँकी रहेका प्रदेशमा एमाले–नेकपाले कांग्रेससँग पनि सहकार्य गर्नुपर्ने स्थिति छ ।