काठमाडौँ । एमाले र नेकपा फेरि एकै ठाउँमा उभिएका छन् । एमाले र नेकपा पार्टीबीच प्रदेश सरकार गठन तथा सञ्चालनमा सहकार्य गर्ने सहमति भएसँगै दुई पार्टी फेरि एकैठाउँमा उभिएका हुन् । शनिबार भएको सहमतिअनुसार दुई दलले प्रदेशसभामा संयुक्त रूपमा सरकार गठन गर्दै सत्ता साझेदारी गर्ने भएका छन्।
सहमतिपत्रमा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर गरेका छन्।सहमतिअनुसार कोशी, बागमती र लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमालेले गर्नेछ।
यस्तै कर्णाली र सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व नेपाली कम्युनिष्ट पार्टीले गर्ने सहमति भएको छ। मधेश र गण्डकी प्रदेशमा भने प्रदेशसभामा प्रतिनिधित्व गर्ने अन्य राजनीतिक दलहरूसँग समेत परामर्श गरेर सरकारको नेतृत्व र सहभागिताको स्वरूप तय गर्ने सहमति गरिएको छ।