Jul 26 2026 | २०८३, श्रावण १० गते

Jul 26 2026 | २०८३, श्रावण १० गते

डा गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर

डा गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर

धनगढी । कैलालीको धनगढीमा आमरण अनशनमा बसेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था थप जटिल बन्दै गएको छ। स्वास्थ्यमा लगातार समस्या देखिए पनि उनले ग्लुकोज तथा स्लाइन लिन अस्वीकार गरेका छन्।

धनगढीस्थित सेती प्रादेशिक अस्पतालले जारी गरेको विज्ञप्तिअनुसार डा. केसीलाई अत्यधिक कमजोरी, मांसपेशी बाउँडिने समस्या देखिएको छ। त्यसका कारण उनी बोल्न तथा हिँडडुल गर्नसमेत कठिनाइ भइरहेको अस्पतालले जनाएको छ। उपचारका लागि चिकित्सकहरूले आग्रह गरे पनि उनले उपचार प्रक्रियाका केही पक्ष स्वीकार नगरेको अस्पतालले उल्लेख गरेको छ।

अस्पतालका अनुसार स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि उनलाई आईसीयूमा राखेर विशेषज्ञ चिकित्सकको प्रत्यक्ष निगरानीमा उपचार भइरहेको छ। यद्यपि डा. केसीले ग्लुकोज तथा स्लाइन नलिने अडान कायम राखेका छन्।

डा. केसीका सहयोगी अमृत जैसीका अनुसार अस्पतालका चिकित्सकको नेतृत्वमा गठन गरिएको चार सदस्यीय उपचार टोलीले उनको स्वास्थ्य अवस्थाको २४सै घण्टा निगरानी गरिरहेको छ। आवश्यक चिकित्सकीय मूल्याङ्कन र परीक्षण निरन्तर भइरहेको उनले बताए।

अस्पतालले सार्वजनिक गरेको विवरणअनुसार डा. केसीको रक्तचाप ९०/६० देखि ११०/७० एमएमएचजीको बीचमा रहेको छ। रगतमा चिनीको मात्रा ५०–६० एमजी/डीएलसम्म झरेपछि हाइपोग्लाइसेमियाको अवस्था देखिएको अस्पतालले जनाएको छ। त्यसैगरी पिसाबमा किटोन बडी देखिएको, शरीरमा सोडियमको मात्रा घट्दै गएको तथा सेता रक्तकोषको संख्या पनि कम हुँदै गएको उल्लेख गरिएको छ।

यसैबीच शनिबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव चूडामणि पौडेलले सेती प्रादेशिक अस्पताल पुगेर आईसीयूमा रहेका डा. केसीसँग भेटवार्ता गरेका छन्। भेटका क्रममा डा. केसीले अघि सारेका मागका विषयमा प्रारम्भिक छलफल भएको र ती मागबारे आइतबार (साउन १०) विस्तृत रूपमा संवाद गरिने जानकारी दिइएको छ।

डा. केसीले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयसँग सम्बन्धित तीनबुँदे माग राख्दै अनशन जारी राखेका छन्। उनको पहिलो माग विश्वविद्यालयका लागि आवश्यक दरबन्दी व्यवस्थासहित ३०० शय्याको शिक्षण अस्पताल तत्काल सञ्चालनमा ल्याउनुपर्ने रहेको छ। दोस्रो माग चालु शैक्षिकसत्रभित्रै एमबीबीएससहित मेडिकल शिक्षाको पठनपाठन सुरु गर्नुपर्ने हो।

त्यस्तै, विश्वविद्यालयका उपकुलपति र रजिस्ट्रारको नियुक्ति स्वार्थ बाझिने ढंगले गरिएको दाबी गर्दै त्यसलाई तत्काल बदर गर्नुपर्ने माग पनि उनले अघि सारेका छन्।

डा. केसीले चिकित्साशिक्षामा सुधार, सुदूरपश्चिम प्रदेशमा गुणस्तरीय स्वास्थ्य सेवाको विस्तार तथा विश्वविद्यालयलाई प्रभावकारी रूपमा सञ्चालन गर्न आफ्ना मागहरू शीघ्र सम्बोधन गर्न सरकारसँग आग्रह गर्दै अनशनलाई निरन्तरता दिएका छन्।