काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले पदभार सम्हालेको पहिलो १०० दिनमा ऊर्जा पूर्वाधार विस्तार, सिँचाइ, नीतिगत सुधार र सेवा प्रवाहको आधुनिकीकरणलाई प्राथमिकतामा राखिएको बताएका छन्।
मन्त्रालयका अनुसार यस अवधिमा देशको विद्युत् उत्पादन क्षमता १३८ मेगावाटले बढेर ४ हजार २४२ मेगावाट पुगेको छ। ७९ सर्किट किलोमिटर प्रसारण लाइन थपिँदा ४७२ गिगावाट घण्टाभन्दा बढी विद्युत् निर्यात गरिएको छ। साथै १ हजार ५२३ मेगावाटका उत्पादन अनुमति र १ हजार ५७१ मेगावाट बराबरका सर्वेक्षण अनुमति जारी गरिएको छ।
मन्त्रालयले जलस्रोत तथा नवीकरणीय ऊर्जासम्बन्धी विधेयकको मस्यौदा तयार गरी कानुन मन्त्रालयमा पठाएको जनाएको छ। विद्युत् खरिद सम्झौता (पीपीए), विद्युत् निर्यात रणनीति, आन्तरिक खपत वृद्धि तथा नेपाल विद्युत् प्राधिकरणको संरचनागत सुधारसम्बन्धी तयारी पनि अघि बढाइएको छ।
सुनकोशी–मरिन, भेरी–बबई र रानी जमरा कुलरिया जस्ता राष्ट्रिय गौरवका आयोजनाको कार्यान्वयनलाई तीव्रता दिइएको मन्त्रालयको दाबी छ। यस्तै, नयाँ प्रसारण लाइन विस्तार, अन्तरदेशीय विद्युत् प्रसारण आयोजनाको प्रक्रिया र सिँचाइ पूर्वाधार विस्तारका काम पनि अघि बढाइएको छ।
सेवा प्रवाह सुधारका लागि ‘एआई साथी’ च्याटबोट र ‘नो लाइट साथी’ प्रणाली परीक्षण सुरु गरिएको छ भने नयाँ विद्युत् जडान, मिटर परिवर्तन र गुनासो सम्बोधनका लागि समयसीमा लागू गरिएको मन्त्रालयले जनाएको छ।
मन्त्री श्रेष्ठले पहिलो १०० दिनलाई नीतिगत सुधार र दीर्घकालीन तयारीको चरणका रूपमा उल्लेख गर्दै मन्त्रालयले आफ्नो कार्यसम्पादन ७३ प्रतिशत रहेको मूल्यांकन गरेको जानकारी दिए। उनले अबको प्राथमिकता कार्यान्वयन र नागरिकले प्रत्यक्ष अनुभूति गर्ने परिणाममा केन्द्रित हुने बताए।