Jul 19 2026 | २०८३, श्रावण ३ गते

Jul 19 2026 | २०८३, श्रावण ३ गते

श्रीलंका भ्रमण सकेर स्वदेश फर्किए प्रचण्ड, वामपन्थी सहकार्यमा जोड

श्रीलंका भ्रमण सकेर स्वदेश फर्किए प्रचण्ड, वामपन्थी सहकार्यमा जोड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पाँचदिने श्रीलंका भ्रमण पूरा गरी आज काठमाडौं फर्किएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई पार्टीका नेता तथा कार्यकर्ताले स्वागत गरेका थिए।

जुलाई १५ मा श्रीलंका पुगेका प्रचण्डले ‘ह्यान्ड्स अफ एसिया’ अन्तर्राष्ट्रिय सम्मेलनमा प्रमुख वक्ताका रूपमा सहभागिता जनाउँदै विश्व शक्ति सन्तुलन, साम्राज्यवाद, नवउदारवादका चुनौती र २१औँ शताब्दीको समाजवादबारे आफ्नो धारणा राखेका थिए।

भ्रमणका क्रममा उनले नेपालको शान्ति प्रक्रिया, जनयुद्धबाट लोकतान्त्रिक गणतन्त्रसम्मको यात्रा र समाजवादी रूपान्तरणको विषयमा अन्तर्राष्ट्रिय मञ्चमा विचार प्रस्तुत गरे। उनले ग्लोबल साउथ एकेडेमिक फोरमलाई दिएको अन्तर्वार्तामा पनि नेपालको राजनीतिक अनुभव र वाम आन्दोलनका चुनौतीबारे चर्चा गरेका थिए।

श्रीलंका बसाइमा प्रचण्डले त्यहाँका प्रमुख वामपन्थी दलका नेताहरूसँग भेटवार्ता गर्दै नेपाल–श्रीलंका कम्युनिस्ट आन्दोलन, आर्थिक विकास, सुशासन र दक्षिण एसियाली सहकार्यका विषयमा छलफल गरे।

उनले श्रीलंकाको कम्युनिस्ट पार्टी तथा सत्तारुढ जनता विमुक्ति पेरामुना (जेभीपी) का नेताहरूसँग भएका भेटमा प्रगतिशील शक्तिबीच सम्बन्ध विस्तार र साझा मुद्दामा सहकार्य गर्ने विषयमा छलफल गरेका थिए।

पार्टीका अनुसार यस भ्रमणले नेपालको कम्युनिस्ट आन्दोलनलाई अन्तर्राष्ट्रिय स्तरमा प्रस्तुत गर्न र दक्षिण एसियाली वामपन्थी शक्तिसँग सम्बन्ध बलियो बनाउन सहयोग पुगेको छ। प्रचण्ड बिहान ११ः५५ बजे काठमाडौं आइपुगेका हुन्।