पछिल्ला केही साता नेपाली सिने क्षेत्रमा दुईवटा विवाद उत्कर्षमा रहे । पहिलो थियो, अभिनेता भुवन केसी र अभिनेत्री सामाग्री शाहबीचको विवाद । दोस्रो हो अभिनेत्री पूजा शर्मा र सञ्चारकर्मी प्रकाशबीचको ।
पहिलो विवाद तत्कालै साम्य हुने छाँटकाट नदेखिए पनि दास्रो विवाद भने साम्य भएको छ । अभिनेत्री पूजा शर्मा र सञ्चारकर्मी प्रकाश सुवेदीबीच सम्झौता पत्रमा हस्ताक्षर भएपछि यो विवाद टुङ्गिएको छ । विवादलाई अन्त्य गर्न एपीवान टेलिभिजनका मालिक क्याप्टेन रामेश्वर थापाको मुख्य भूमिका रह्यो ।
योसँगै पूजा शर्माले विभिन्न संस्थामा प्रकाश सुवेदीविरुद्ध दिएका उजुरीहरू फिर्ता लिने भएकी छन् । रामेश्वर थापासँगै यो विवादलाई मिलाउन नेपाली फिल्मसँग सम्बन्धित अन्य संघसंस्थाको पनि उत्तिकै भूमिका रह्यो । दुवै पक्षबीच सहमति भएको मिलापत्रमा कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का, निर्माता संघका अध्यक्ष आकाश अधिकारी, नृत्यकार संघका अध्यक्ष जनक कार्की लगायतको हस्ताक्षर रहेको छ ।
एपिवानबाट गत साउनमा प्रसारित रजतपट कार्यक्रममा सुवेदीले आफूविरुद्ध अपशब्द प्रयोग गरेको भन्दै शर्माले उनीविरुद्ध विभिन्न संघसंस्थामा उजुरी दिएकी थिइन् । उजुरी परेकै दिन सुवेदीले शर्मासँग आफूबाट गल्ती भएको भन्दै माफी मागेका थिए । तर, माग्दा पनि दम्भ देखिएको भन्दै शर्माले प्रकाशलाई माफी दिएकी थिइनन् ।