काठमाडौँ । दाङ निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजित नेकपा एमालेका महासचिव शंकर पोखरेलले चुनावबाट नयाँ शक्तिको उदयले मुलुकको स्थायित्वमा चुनौती थपेको बताएका छन् ।
आज नेकपा एमाले दाङमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले असन्तुष्टि र आक्रोशका रूपमा प्रकट भएको यो जनमतले राजनीतिक स्थायित्व थप संकटमा परेको बताएका हुन् ।
उनले नयाँ शिराबाट प्रयास गर्नुपर्ने अवस्था र आवश्यकता देखिएको बताए । उनले नेकपा एमालेले मुलुकलाई स्थायित्वतर्फ लैजान गरेको प्रयास जनादेशका दृष्टिकोणले असफल भएको बताए । उनले नयाँ शक्तिहरू उदयलाई संकटका रूपमा चित्रित गर्दै राजनीतिक दलहरूले यसबाट मुलुकलाई बाहिर निकाल्न ध्यान दिनुपर्ने आवश्यक्ता औंल्याए ।
जनता निराश हुँदा विकल्पहरू आउने भन्दा पनि लोकतन्त्र संकट पर्न सक्ने कुरालाई सबै दलले बुझ्नुपर्ने बताए । सत्ता गठबन्धनबाट माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्मासँग पराजित भएका पोखरेलले आफू राजकीय जिम्मेवारीबाट बाहिर रहनु परेको परिस्थितिलाई एमाले महासचविको हिसाबले मुलुकको राजनीतिलाई सही दिशा प्रदान गर्ने एउटा अवसरका रूपमा लिएको बताए ।
उनले सरकार गठनका लागि एमालेले मात्रै नभएर सत्ता गठबन्धनले पनि ‘म्याण्डेट’ प्राप्त गर्न नसकेको बताए ।