काठमाडौँ । मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चयनका लागि भएको निर्वाचनका बेला चापाकोटमा भएको घटनाकाबारे स्थलगत अध्ययन अवलोकन गर्न आएको निर्वाचन आयोगको टोली शनिबार साँझ काठमाडौं फर्केको छ।
आयोगका सहसचिव फणिन्द्र गौतमको नेतृत्व र शाखा अधिकृतसहितको शुक्रबार बिहान स्याङ्जा आएको टोली २ दिन स्याङ्जामा बसेर फर्केको हो।
टोलीले जिल्लाका सुरक्षा प्रशासन, विवादमा तानिएका मतदान केन्द्र, आन्दोलनरत राजनैतिक दलहरुलगायतसँग छुट्टाछुट्टै छलफल गरेको छ। टोलीलाई तीन दिन अर्थात् मंसिर १२ भित्र प्रतिवेदन बुझाउने समयसिमा तोकिएको छ।
प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीका अनुसार आयोगको टोलीले चापाकोट पुगेर स्थलगत अध्ययन अवलोकनका साथै सम्बन्धित सरोकारवालासँग भेटवार्ता गरे। निर्वाचन अधिकृत, मतदान अधिकृत, सुरक्षाकर्मीसँग पनि भेटवार्ता गरेका छन्।
मतदान सकिएको सातादिन पुग्दा समेत स्याङ्जा निर्वाचन क्षेत्र नं. २ को मतगणना सुरु हुन नसक्दा स्थानीय मतदाताको आक्रोश बढेको छ। तर, नेपाली कांग्रेस र नेकपा एमाले आ–आफ्नै अडानमा छन्। बिहानदेखि साँझसम्म दुवैपक्ष धर्ना र शक्ति प्रर्दशनमा उत्रिएका छन् ।