काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले निर्वाचनबाट कसैको बहुमत नआउनु देशका लागि दुर्भाग्यपूर्ण भएको बताएका छन् ।
कुनै दलको बहुमत नआउँदा मुलुक अस्थिरताको चक्रव्युहमा फस्ने खतरा रहेको पौडेलले बताए । रुपन्देही २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि पत्रकार सम्मेलन गर्दै पौडेलले नेकपा एमालेले सरकारको नेतृत्व नगर्दासम्म देशले सही निकास नपाउने दाबीसमेत गरे ।
बहुमत नपाए पनि एमालेले सरकारको नेतृत्वका लागि अधिकतम पहल गर्ने बताए । एमालेले प्रधानमन्त्रीका लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अघि सारेको र एमालेले मात्रै देशलाई सही ढंगले अघि बढाउन सक्ने उनको दाबी छ ।
पौडेलले मतदाताको सुझावलाई आत्मसाथ गरेर असल जनप्रतिनिधिको भूमिका निभाउने प्रतिबद्धता जनाए । पौडेलले चुनावका बेला अस्वस्थ प्रतिस्पर्धा, आरोप प्रत्यारोप भन्दा माथि उठेर आफ्ना एजेण्डा प्रस्तुत गरेर आफूले स्वस्थ प्रतिस्पर्धा गर्ने संस्कारको सुरुआत गरेको बताए ।