Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

खोला किनारका बस्ती ३५ दिनभित्र खाली गर्न उपत्यका विकास प्राधिकरणको सूचना

खोला किनारका बस्ती ३५ दिनभित्र खाली गर्न उपत्यका विकास प्राधिकरणको सूचना

काठमाडौँ । काठमाण्डौ उपत्यका विकास प्राधिकरणले खोला किनार अतिक्रमण गरी निर्माण गरिएका अनधिकृत संरचना ३५ दिनभित्र खाली गर्न सूचना निकालेको छ ।

प्राधिकरणले सार्वजनिक सूचना निकालेर काठमाडौँ उपत्यकाभित्रका सरकारी, प्रर्ति, ऐलानी तथा खोलाको मापदण्ड बमोजिमका जग्गालाई अतिक्रमण गरी निर्माण गरिएका अनधिकृत संरचना ३५ दिनभित्र खाली गर्न अनुरोध गरेको छ ।

तोकिएको मितिमा नहटाएमा अतिक्रमण गरी निर्माण गरिएका संरचना प्राधिकरणले हटाउने र त्यसरी हटाउँदा वा भत्काउँदा लागेको लागत सम्बन्धित व्यक्ति वा संस्थाबाट असुल गरिने उल्लेख छ ।

सोमबार काठमाण्डौको थापाथली सुकुम्वासी बस्तीमा काठमाण्डौ महानगर तथा अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले संरचना हटाउन खोजेपछि तनाव भएको थियो । महानगरको नगरप्रहरी र डोजरले बस्ती हटाउन खोजेपछि सुकुम्वासीले घरेलु हतियारसहित ढुङ्गामुढा समेत गरेका थिए ।

यसअघि वाग्मती सभ्यता एकीकृत विकास समितिले वाग्मती सुकुम्वासी बस्ती हटाउन कात्तिक २४ गते सूचना निकालेको थियो । तोकिएको समय १० दिनभित्र स्थानीयले अवैध संरचना नहटाएपछि महानगर प्रहरी डोजरसहित सुकुम्वासी बस्तीमा पुगेको थियो ।