काठमाडौँ । तत्कालीन प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेको दुई वर्ष बितिसक्दा पनि सर्वसाधारणले धरहरा कहिले चढ्न पाउँछन् भन्ने कुरा अझै अनिश्चित बनेको छ। ओलीले २०७८ वैशाख ११ गते धरहरा प्रवेशद्वारमा राखिएको शिलालेख अनावरण गरी उद्घाटन गरेका थिए। २०७२ सालमा गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको भूकम्पले धरहरा ढलेपछि पुनर्निर्माण गरिएको छ। यता सर्वसाधारण कहिले धरहरा चढ्न पाइएला भन्ने आशमा ८ वर्ष बितिसकेको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले २०७५ साल असोज १४ गते धरहरा क्षेत्रका संरचना निर्माणको लागि ठेक्का लगाएको थियो। जिआइटीसी रमन जेभीले करिब ३ अर्ब ४८ करोड अनुमानित लागतमा ठेक्का २०७५ असोज १४ गते पाएको थियो। त्यसयता कम्पनीले पाँच पटक म्याद थप गरिसकेको छ। गत वर्ष थपिएको समय भने यही असोज मसान्तसम्म सकिँदै छ। निर्माण कम्पनीले ९० प्रतिशत काम सकिएको दाबी गरेको छ।
अहिले ४२.२ रोपनी क्षेत्रफलमा फैलिएको धरहरा भीमसेन थापाले ११ तले बनाएका थिए। ९० सालको भुइँचालोमा भत्केर उक्त धरहरा नौ तलामा सीमित भएको थियो। त्यसपछि नौ तला नै राखेर पुनर्निर्माण गरिएको थियो। अहिले बाहिरबाट देखिँदा ११ तले छ। भित्र भने २२ तला छ। जमिनमुनि तीनवटा तला बनाइएको छ। ४२ रोपनी क्षेत्रफलमा फैलिएको धरहराको वरपर विश्राम स्थलसहितको बगैंचा छ। ऐतिहासिक सुन्धारामा २४ सै घन्टा पानी आउने छ। परिसरमा संग्रहालय, रंगीन जलफोहोरा, प्रदर्शनी, स्मारिका पसललगायत संरचना हुनेछ। तीन तले अन्डरग्राउन्ड पार्किङ बनाइएको छ। जहाँ चार सय गाडी र सात सय मोटरसाइकल पार्किङ गर्न सकिने जनाइएको छ।
धरहरा टावर बाहिरबाट हेर्दा ११ तल्लाको देखिए पनि भित्र जमिनमुनि दुई तल्लाको भूमिगत संरचना बनिरहेको छ । जमिनमाथि भुइँतल्लासहित २३ तल्लाको धरहरा भने ठडिएको छ । समग्रमा धरहरा २५ तल्लाको बनेको छ । धरहरासहित यस क्षेत्रमा निर्माण हुने संरचनाको कूल लागत रु तीन अर्ब आठ करोड रहेको जनाइएको छ । जमिनमाथिबाट गजुरसहित धरहराको उचाइ ८३.८५ मिटर छ । भूमिगत तल्लासहित ९२.२५ मिटर हुन्छ । धरहराभित्र दुईवटा लिफ्ट राखिएको छ । लिफ्टमा एकपटकमा १० जनाले यात्रा गर्न सक्नेछन् । लिफ्टका कारण वृद्धवृद्धा तथा अपाङ्गता भएकालाई धरहरा चढ्न सहज हुनेछ । धरहरामा फलामको भर्याङसमेत जडान गरिएको छ ।
धरहराबाट उपत्यकाको दृश्यावलोकनका लागि २०औँ तल्ला बाहिर २.५ मिटर चौडाइको बार्दलीसमेत बनाइएको छ । २२औँ तल्लामा पुरानो धरहराबाट झिकेर सुरक्षित राखिएको शिवलिङ्ग स्थापना गरिएको छ । धरहरामुनिको दुईतले भूमिगत संरचनामा दुईवटा ‘विद्युतीय स्वचालित भर्याङ’ बाट तलमाथि गर्न सकिने गरी संरचना तयार पारिएको छ ।
धरहराको इतिहास यस्तो छ ....
१८८२ सालमा महारानी ललिता त्रिपुरासुन्दरीको आज्ञामा नेपालका पहिलो प्रधानमन्त्री भीमसेन थापाले ६१.८८ मिटर अग्लो ११ तले धरहरा बनाउन लगाएको इतिहास छ । विसं १९१३ मा बज्र (चट्याङ)ले भत्केपछि १९२३ सालमा धरहराको जीर्णोद्धार गरिएको थियो । १९९० साल माघ २ गतेको भूकम्पले भत्किएको धरहरा दुई वर्षपछि तत्कालीन प्रधानमन्त्री जुद्धशमशेरको शासनकालमा पुनर्निर्माण भएको थियो । पुनर्निर्माणका क्रममा ११ तले धरहरालाई नौ तल्लामा सीमित गरिएको थियो ।
यो धरहराभन्दा अघि विसं १८८१ मा थापाले नै लगनटोलमा आफ्नो नाममा धरहरा निर्माण गर्नुभएको थियो । जसको नाम पनि भीमसेन स्तम्भ नै राखिएको थियो । विसं १८९० मा भत्किएपछि लगनटोलको धरहरा पुनर्निर्माण नभएको ऐतिहासिक दस्तावेजमा उल्लेख गरिएको छ । हाल धरहरा टावरको काम भने सकिएको छ । ठडिएको टावर वरपरबाट तस्वीर खिच्ने भीड देखिन्छ । विभागले भने धरहरा क्षेत्रका सबै संरचनाको निर्माण नसकिएसम्म धरहरामात्र खुला गर्न नसकिने जनाएको छ ।