Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

टिकटकबाटै महिलाहरु खतरामा,बेचिन लागेका १२ युवतीको उद्धार

टिकटकबाटै महिलाहरु खतरामा,बेचिन लागेका १२ युवतीको उद्धार

काठमाडौँ ।सामाजिक सञ्जालको बढ्दो प्रयोग संगै गाउँका अशिक्षित महिलामात्रै होईन सहरकै शिक्षित महिला पनि बेचबिखनको जोखिममा पर्न थालेका छन् ।

मानव बेचबिखन र ओसारपसारमा पछिल्लो समय लोकप्रिय भइरहेको सामाजिक सञ्जाल टिकटकको दुरुपयोग तीव्ररुपमा बढिरहेको छ । विशेषगरी किशोरावस्थाका युवती टिकटकका माध्यमबाट अपरिचित व्यक्तिको सम्पर्कमा पुगी बेचबिखनको जोखिममा परेका छन् । पछिल्लो समय धेरै प्रयोगमा आएको सामाजिक सञ्जाल टिकटकबाट सम्बन्ध विस्तार गरी महिला बेचबिखनको जोखिममा पर्ने गरेका छन् ।

टिकटकको माध्यमबाट चिनजान र कुराकानी भई घरबाट हिँडेका घटनामा जोखिम बढी पाइएको माइती नेपाल नेपालगन्जका संयोजक केशव कोइराला बताउँछन् । माइती नेपालले यसरी टिकटकको माध्यमबाट चिनजान भई सीमापार जान लागेका किशोरीलाई उद्धारसमेत गरेपछि टिकटक पनि बेचबिखनको माध्यम बनेको खुलेको हो । केही वर्षअघिसम्म गाउँका अशिक्षित महिलामात्रै बेचबिखनको जोखिममा पर्ने गरेका समाचार सुनिन्थ्ये तर, अहिले सामाजीक सञ्जालको दुरुपयोगले घटनाको क्रम बढेको छ ।

अहिले मानब बेचबिखनको स्वरुपमा परिवर्तन आएको छ । अहिले नयाँ प्रविधि र सामाजिक सञ्जालको प्रयोगले सहरकै शिक्षित महिला पनि जोखिममा छन् । सामाजिक सञ्जाल टिकटकको माध्यमबाट चिनजान भई भारत जान लागेका छ जनालाई माइती नेपालका कर्मचारीले जमुनाहनाकामा रोकेर परिवारलाई बुझाएका छन् । पछिल्लो छ महिनामा टिकटकको माध्यमबाट चिनजान भएकै आधारमा घर छाडेका १२ युवती बेचबिखनको जोखिममा परेको जनाउँदै परिवारले खोजतलासका लागि माइती नेपालको नेपालगन्जस्थित कार्यालयमा निवेदन दिएका छन् ।

मोबाइल फोन, फेसबुक, म्यासेन्जर, इमोलगायतका कारण मानव तस्करलाई नयाँ व्यक्तिसँग चिनजान र सम्पर्क बढाउन सहज बनाइदिएको छ । छोटो समयमा अपरिचित मान्छेले फोन गर्ने, नाता जोड्ने, भेटघाट गर्ने र राम्रो जागिर लगाइदिने, प्रेम तथा विवाह गर्ने बहानामा युवतीलाई सीमा कटाउने क्रम बढेकाले पनि मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा चुनौती रहेको छ । संयोजक कोइराला अहिले मोबाइल फोन, फेसबुक मानव बेचबिखन तथा ओसारपसारको गतिलो माध्यमका रूपमा प्रयोग भएको बताए ।

मानव बेचबिखनका घटना प्रत्येक वर्ष बढ्दै गएका छन् । बढ्दो बिलासिताप्रतिको आकर्षण, सञ्चार प्रविधिको दुरुपयोग र असुरक्षित बसाइँसराइका कारण मध्यम वर्गका व्यक्ति बेचबिखनमा पर्ने गरेको पाइएको छ । राम्रो लगाउनुपर्ने, मीठो खानुपर्ने र समाजमा देखाउनुपर्ने प्रवृत्ति बढ्दै जाँदा पनि महिला जानाजान जोखिम मोल्न तयार हुने गरेको शक्ति समूहकी क्षेत्रीय अधिकृत निर्मला पौडेलले बताए । मानव बेचबिखनविरुद्ध कार्यरत सङ्घसंस्थालाई स्थानीय तह र ग्रामीण नाकासम्म गतिविधि र निगरानी बढाउन आग्रह गर्दै आएका छन् । समाजीक सञ्जालबाट छिट्टै ननिकिने र विश्वास गरिहाल्ने बानीले महिलाहरु बेचबिखनको शिकार बनेका छन् ।