Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

सिक्किमको बाढीमा पाँच नेपाली वेपत्ता

सिक्किमको बाढीमा पाँच नेपाली वेपत्ता

काठमाडौँ । भारतको सिक्किममा एक साताअघि आएको भिषण बाढीपछि इलामका पाँच जना सम्पर्कविहीन भएका छन्। गएको असोज १६ गते सिक्किमस्थित टिस्टा नदीमा ठूलो बाढी आउँदा धेरै जनधनको क्षति भएको थियो। रोजगारीको लागि इलामबाट सिक्किम पुगेका केही नेपाली पनि त्यो बाढीमा परेको अनुमान गर्न थालिएको छ। जिल्ला प्रशासन कार्यालय इलामले टिस्टामा आएको बाढीपछि पाँच जना श्रमिक सम्पर्क विहीन भएको जानकारी दिएको छ।

इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार इलामका ४० वर्षीय सेनबहादुर कार्की, ३० वर्षीय लाक्पा शेर्पा, नरमाया बस्नेत, ९ वर्षीया खुसी बस्नेत र २८ वर्षीय कुमार खड्का टिस्टा नदीमा आएको बाढीपछि परिवारको सम्पर्कमा छैनन्। उनीहरु सबै इलाम नगरपालिका ९ गोलखर्कका स्थायी बासिन्दा भएका इलाम ९ का वडाध्यक्ष गोपाल चौहानले जानकारी दिए।

एकै गाउँका उनीहरु केही महिनाअघि उत्तरी सिक्किमको लाचेन भन्ने ठाउँमा निर्माण श्रमिकका रुपमा त्यता गएका थिए। सुरुमा इलामबाट कामको लागि सिक्किम पुगेका १० जना नेपाली बेपत्ता भएको चर्चा चलेपनि पछि पाँचजना परिवारको सम्पर्कमा आइसकेका वडाध्यक्ष चौहानको भनाई छ। यहि असोज १७ गते टिस्टा नदीको उद्गम स्थलमा हिमताल विस्फोट हुँदा सिक्किममा ठूलो बाढी आएको थियो।

बाढीमा परेर हालसम्म ५५ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ। भारतीय सैनिकसहित १ सय ४१ जना अझै बेपत्ता छन्। बाढीमा परेर केही नेपाली पनि बेपत्ता भएको आशंका गरिएको छ। परिवारको सम्पर्कमा नरहेका नेपालीहरुको विषयमा सिक्किमका सुरक्षाकर्मीसँग कुराकानी भइरहेको प्रजिअ पोखरेलले बताए।