Shares
Shares
काठमाडौँ । कञ्चनपुरका विपीन जोशी इसराइलबाट सम्पर्कविहीन भएको एक महिना पुग्न लाग्यो। गत अक्टोबर ७ मा हमासको आक्रमण भएपछि १० जना नेपाली विद्यार्थी मारिएका थिए भने केही घाइते भएका थिए। सोही आक्रमणपछि जोशीको अवस्था अज्ञात छ। पढाइमा अब्बल जोशी परिवारका एक्ला छोरा हुन्। भीमदत्त नगरपालिकाको भाँसीमा उनको परिवार कहिले के खबर आउँछ भन्ने पर्खाइमा छन्। इसराइल घटनामा ठूलो संख्यामा नेपाली विद्यार्थीको ज्यान गएपछि देश शोकमा पर्यो। जोशीको परिवारको दसैं यस्तै भयो। तिहारसम्म विपीन सम्पर्कमा आउने आशमा उनीहरू बसेका छन्। विपीनकी बहिनी पुष्पाले इजराइलमा बेपत्ता दाजुको खोजी गरिदिन आग्रह गरिरहेकी छन्। ‘दसैं त त्यस्तै भइहाल्यो, मेरो भाइटीका नरोकिदिनुहोस्, बिन्ती छ एउटा उज्यालोलाई निभ्न नदिनुहोस्, सरकार, विभिन्न संघसंस्था, मानव अधिकारकर्मी, मिडियाकर्मी, मेरो दाजुलाई घरसम्म पुर्याउन सहयोग गरिदिनुहोस्,’ पुष्पाले दुई हात जोड्दै आग्रह गरिन्। हमास र इसराइलको तनावमा निर्दाष नेपाली परेका छन्। निर्दोष कलिलो मुनालाई सकुशल घर फर्काउन संसारका शक्तिले सहयोग गरिदिन विपीनकी आमा पद्मादेवीले आग्रह गरेकी छन्। गत असोज २० गते शनिबार दिउँसो १२ बजेसम्म विपीन परिवारको सम्पर्कमै थिए।
उनका (ठूलो बाका छोरा) दाजु किशोर जोशीले इसराइलमा हमासको आक्रमण भयो भन्ने कुरा सञ्चार माध्यमबाट थाहा पाएका थिए। उनैले परिवारलाई यो कुरा जानकारी गराएका थिए। लगत्तै चिन्ता मान्दै विपीनलाई भिडिओ कल गरेका थिए। ‘समाचार हेरेपछि मैले त्यहाँको अवस्था बुझेँ, भाइले त्यो बेला खाना खाइरहेका छौं भन्ने जवाफ दिएको थियो, उसको कुरा सुन्दा त्यहाँ त्यति ठूलो घटना भइसकेको होला भन्ने केही लागेन,’ दाजु किशोरले भने। १२ बजेपछि भने विपीनसँग फेरि कुरा गर्न खोज्दा सम्पर्क भएन। विपीनका साथीहरूले दिएको जानकारी अनुसार घटनाको दिन उनलाई हमासले लगेर गएको भन्ने नै छ। घटनापछि र स्वदेश फर्किएका अरू विद्यार्थीसित उनीहरू कुरा गरिरहन्छन्। त्यहाँबाट फर्केका विपीनका साथीहरूले हमासले आफ्नै अगाडि समातेर लिएको भनेका छन्। हमासले साथमा लिएर गएका केही विदेशी नागरिकलाई सार्वजनिक गरेको छ त केहीलाई सुरक्षित फिर्ता गरिसकेको छ। तर, नेपालका विपीनको अवस्था भने पत्ता लागेको छैन। इसराइलको प्रधानमन्त्री कार्यालय स्रोतले पनि विपीनलाई हमासले नै लगेको बताएको कुरा सञ्चार माध्यममा आएको छ। तर, महिना दिन बित्दा समेत कहाँ कुन अवस्थामा उनलाई राखिएको छ त्यो चिन्ता लागिरहेको आमा पुष्पाले बताइन्।
विपीनको बुवा महानन्द जोशीले छोराको बाटो हेर्दै महिना दिन बितेको बताए। ‘कुन बाटो आउँछ छोरा भनेर हामीहरू हरेक दिन पर्खेर बसेका छौं, आशा छ मेरो छोरा अवश्य पनि फर्केर आउँछ,’ उनले भने। उनले पनि नेपाल सरकार, परराष्ट्र मन्त्रालय, मानव अधिकार, संसारका सारा संघसंस्था, राष्ट्रिय/अन्तर्राष्ट्रिय मिडियाकर्मीलाई छोराको खोजी गरिदिन आग्रह गरे। ‘सबैले मिलेर कुनै न कुनै माध्यमबाट मेरो छोरालाई घर ल्याइदिनुहोस्। हामी सबैको सहयोग आशामा बसेका छौं, बोल्न पनि सक्दैनौं, गाह्रो भइसक्यो,’ महानन्दले बिन्ती बिसाए। विपीनकी हजुरआमा पनि नातिको बाटो हेरेर बसेकी छन्। हजुरआमा नाति सम्झेर बेलाबेला मुर्छा पर्ने गरेको महानन्दले बताए। हमाससँग राम्रो सम्बन्ध भएका देशहरूसँग नेपाल सरकारले कूटनीतिक सम्बन्ध बनाएर विपीनको छिटो खोजी गरिदिन महानन्दले आग्रह गरे। उनले कतार, इराक लगायतका देशबाट हुन्छ कि छिमेकी देशबाट हुन्छ, छोरालाई घर फर्काइदिन अनुरोध गरे। विपीनको परिवार बैतडीको दोगडाकेदार गाउँपालिका–१ रिमबाट दुई दशकअघि कञ्चनपुरको भीमदत्तनगर भाँसीमा आएको थियो। भाँसीको घरमा आमा पद्मा र बहिनी पुष्पा बस्छन्। ५० वर्षीय बुवा महानन्द भने बझाङको बुंगल नगरपालिकास्थित दहबगरमा रहेको महेन्द्र माविका शिक्षक हुन्।
विपीनकी आमा पद्मा कञ्चनपुरको वेदकोट नगरपालिका–९ सुन्दरपुरमा रहेको उदयदेव माध्यमिक विद्यालयमा पढाउँछिन्। बुवा आमाको जागिरले विपीनको पढाइ र घरखर्च चलेको छ। दु:ख गरी पढाएको छोरा घरको एक्लो सहारा अज्ञात हुँदा आमा पद्मालाई अहिले विद्यालय गएर पठाउन गाह्रो परिरहेको छ। तर, पनि मनोबल बलियो बनाउँदै उनी विद्यालय सञ्चालन भइरहेकीले पढाउने काम गरिरहेकी छन्। बुवा भने चाडबाडका अवसर विद्यालय बन्द हुँदा अहिले घरमै छन्। विपीनले १ देखि पाँचसम्म पहाडमै पढे, ६ देखि १० सम्म महेन्द्रनगरकै सामुदायिक विद्यालयमा पढे, महेन्द्रनगरकै लिटिल बुद्ध हाइस्कुलबाट उनले विज्ञान संकायमा प्लस टु पास गरेका थिए।बिएस्सी एजी पढ्न टीकापुरमा छात्रवृत्तिमा उनको नाम निस्किएको थियो। अन्तिम सेमेष्टरको परीक्षा दिएर उनी इसराइल गएका थिए। नतिजा आउन बाँकी छ।
लर्न एण्ड अर्न कार्यक्रमका लागि उनी जान चाहेका थिए। परिवारले अन्य साथीहरू जाने भए ११ महिना त हो केही सिकेर फर्किन्छ भनेर जान दिएका थिए। ‘त्यहाँ गएपछि बोल्ने मुख नै परेन,’ आमा पद्माले रुँदै भनिन्। विपीन खालीमा समयमा गीत गाउने, कविता लेख्ने, किताब पढ्ने गर्थे। घरमा नयाँ गितार पनि उनले किनेर राखेका छन्। विपीनका परिवारका अनुसार सरकारका मन्त्रीलाई सम्पर्क गर्दा प्रयास गरिरहेका छौं भन्छन्। इसराइल र हमासको लडाइँ अहिले पनि चलेकै छ भनेर खबर आएका छन्। त्यस्तै छ कि केही भइहाल्यो भन्ने पीर उनीहरूलाई छ।
Laliguras Media Network Pvt Ltd
Anamnagar–29, Kathmandau
Phone: :01-5923444
Email : [email protected]
सूचना तथा प्रसारण विभाग :१९३/0७३-७४
प्रेस काउन्सिल नेपाल सूचीकरण नंं. : ३२००/२०७८/०७९
Marketing: 01-5923444, 9851013209