Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

भिजिट भिसामार्फत विदेश जान खोज्ने साढे ६ हजार नेपाली फिर्ता

भिजिट भिसामार्फत विदेश जान खोज्ने साढे ६ हजार नेपाली फिर्ता

काठमाडौँ । भिजिट भिसामार्फत विदेश जान खोज्ने ६ हजारभन्दा बढीलाई प्रहरीले फर्काएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट डेढ वर्षको अवधिमा ६ हजार ६३७ जनालाई फर्काएको प्रहरीले जनाएको छ । मानव बेचबिखन अनुसन्धान ब्युरोले २०७९ को वैशाख १ गतेदेखि हालसम्म असोजसम्म भिजिट भिसामार्फत विदेश जान लागेकालाई फर्काएको हो । जसमा ३४ जना गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट रहेका छन् । कागजात हेर्दा भिजिट भिसामार्फत देखिए पनि उनीहरू वैदेशिक रोजगारीमा जाने मनसाय देखिएकाले फर्काउने गरिएको प्रहरीले जनाएको छ । ब्युरोका प्रवक्ता एसपी कृष्णप्रसाद पंगेनीले गत आर्थिक वर्ष २०७९/८० मा मात्रै ४ हजार ४७९ जनालाई विमानस्थलबाट फर्काएको बताए । हाल ब्युरोले एयरपोर्टबाट छोडेको छ । अहिले विमानस्थल प्रहरी आफैँले हेर्ने गरेको छ । भिजिट भिसामार्फत जान लागेकालाई कुन आधारमा फर्काउने गरेको भन्ने प्रश्नमा एसपी पङ्गेनीले भने, ‘मान्छे हेर्ने वितिक्कै थाहा भइहाल्छ । उसलाई सोधपुछ गर्दा जाने ठाउँ पनि थाहा हुँदैन । कुन होटेलमा बस्ने ? कुन–कुन ठाउँ घुम्ने लगायतका कुरा सोधपुछ गर्दा केही थाहा हुँदैन । त्यही आधारमा हामीलाई शङ्का लागेर थप सोधपुछ गर्दा आफ्नो सही कुरा भनिहाल्छन् ।’

उनीहरूलाई सोधपुछ गरेर आवश्यक काउन्सिलिङ गरेर घर फर्काउने गरिएको उनको भनाई छ । विमानस्थलमा ब्युरोले गत २०७९ वैशाख १ गतेदेखि भिजिट भिसासम्बन्धी हेर्दै आएको थियो । भिजिट भिसामार्फत जाने क्रम बढेपछि ब्युरो विमानस्थलमै खटिएको थियो । हाल विमानस्थल प्रहरीले हेर्न थालेपछि ब्युरो पछि हटेको हो । नेपालबाट भिजिट भिसामार्फत जाने अधिकांशको गन्तव्य दुबई हुने गरेको छ । दुबईबाट विभिन्न देशमा घरेलु कामदार तथा अन्य काममा पठाउने गरेको पाइएको एसपी पङ्गेनीले बताए । त्यसरी भिजिट भिसामा जानेमा धेरैजसो महिला छन् । उनीहरूलाई भिजिट भिसामार्फत पठाउने र त्यहाँ घरेलु कामदारको रूपमा काममा लगाउने गरेको देखिएको उनको भनाई छ । प्रहरीले विगत पाँच वर्षको अवधिमा ८६९ जनाविरुद्ध मुद्दासमेत दर्ता गरेको छ । प्रहरीले मानव बेचबिखन तथा ओसारपसार अन्तर्गत मुद्दा दर्ता गर्ने गरेको हो । त्यस्तै सोही अवधिमा १ हजार २८६ जनाको उद्धार गरेको प्रहरीले जनाएको छ । त्यसरी भिजिट भिसामार्फत खाडी मुलुकहरू दुबई, ओमान, कतार, कुवेत, बहराइन लगायतका देशमा बढी जाने गरेको प्रहरीको तथ्याङ्कले देखाएको छ ।

त्यस्तै अमेरिकी मुलुकहरू ब्राजिल, घाना, टर्की, माल्दोभा लगायतमा समेत जाने गरेको देखिएको छ । युरोपको हकमा अजरबैजान, सर्बिया, पोर्चुगल, टर्की, साईप्रस, रुस, बेलारूस, उज्बेकिस्तान लगायतका मुलुकमा बढी जाने गरेको देखिएको एसपी पङ्गेनीले बताए । अहिले प्रायः गाउँघरसम्म नै मेनपावर व्यवसायीका एजेन्ट छन् । उनीहरूले एकातिर मेनपावर कम्पनीका लागि काम गर्छन् भने अर्कोतिर सम्बन्धित देशमा रहेका एजेन्टहरूसँग उनीहरूको सिधा सम्पर्क हुन्छ । त्यही आधारमा उनीहरूले अमेरिका, अष्ट्रेलिया, क्यानडा तथा युरोपको सपना देखाउँछन् । अहिले भिजिट भिसामार्फत दुबई जान सजिलो छ । दुबईमा तीन देखि ६ महिनासम्म लुकेर काम गर्नुपर्ने बताउने र त्यसपछि अर्को देश जान सकिने भन्दै दलालहरुले प्रलोभनमा पार्ने गरेको पाईन्छ । ‘ ‘नेपालका गाउँ गाउँमा दलालहरू छन् । उता दुबईमा समेत नेपाली दलाल नै छन् । उनीहरू दुवै मिलेर मान्छे लैजान्छन्,’ अनि , ‘दुबई पु¥याएर अलपत्र पारिदिन्छन् । भिजिट भिसामा गएको मान्छेले काम गर्न पाउँदैन । लामो समयसम्म त्यत्तिकै तड्पाएर राख्छन् । उनीहरूबाट १० औँ लाख लिन्छन् । अनि सम्पर्कविहीन हुन्छन् ।’

पुरूषहरूलाई यूरोप तथा क्यानडा, अमेरिका लगायतका मुलुकको सपना देखाउने गरेको पाइन्छ । महिलाहरूको हकमा फरक छ । ‘महिलाहरूलाई दुबईसम्म भिजिट भिसामा लैजान्छन् । अनि त्यहाँ धेरै समय एउटै बन्द कोठामा राख्छन् । त्यहाँबाट मोलमोलाई गरेर, जिउडाल हेरेर घरेलु श्रमिकको लागि लैजान्छन् । त्यसका लागि दलालहरूले पहिला नै पैसा लिइसकेका हुन्छन्,’ । त्यसरी जानेहरूलाई परिबन्दमा पार्ने र लाखौँको डिमाण्ड गर्ने गर्छन् । केही राम्रो हुन्छ कि भन्ने आशमा ऋण निकालेरै भएपनि मानिसले जति भने पनि तिर्न तयार हुने गरेको अवस्था छ । सरकारले भिजिट भिसालाई कडाइ गर्ने भनिरहेपनि सेटिङको आधारमा दैनिक १०० जनाभन्दा बढी भिजिट भिसामा खाडी मुलुकतिर जाने गरेको सम्बन्धित स्रोत बताउछ । नेपालबाट ट्राभल एजेन्सी र कन्सल्टेन्सीहरूमार्फत भिजिट भिसामा जाने क्रम बढेको छ ।