काठमाडौँ । प्यालेस्टिनी लडाकु समूह हमासले इजरायलमा पछिल्लो पटक गरेको आक्रमणपछि वेपत्ता भएका कञ्चनपुरका विपिन जोशी गाजाको एक अस्पतालमा सकुशल फेला परेको सूचना प्राप्त भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालका अनुसार विपिन गाजाको हस्पिटलमा सकुशल रहेको जानकारी इजरायल सरकारले तेल अविवस्थित नेपाली दूतावासलाई जानकारी गराएको र नेपाली दूतावासले परराष्ट्र मन्त्रालयमा जानकारी गराएको थियो । प्रवक्ता लम्सालले भनिन्, ‘विपिन जोशी सकुशल रहेको गुड न्युज प्राप्त भएको छ, हामी विपिनसँग प्रत्यक्ष कुराकानी गरेर थप भेरिफाइ गर्ने प्रयासमा छौं ।’ जोशी अस्पतालमा रहेको भनिए पनि उनको अवस्था कस्तो छ भन्ने अझै स्पष्ट भइनसकेको प्रवक्ता लम्सालले बताइन् । परराष्ट्र मन्त्री एनपी साउदका स्वकीय सचिव दीपकराज जोशीले पनि विपिन गाजा क्षेत्रमा सकुशल फेला परेको जानकारी भरपर्दो स्रोतबाट प्राप्त भएको बताएका छन् । ‘विपिन जोशी सकुशल छन् । त्यसको जानकारी विपिनको परिवारलाई पनि गराइसकिएको छ,’ स्वकीय सचिव जोशीले भने, ‘उनलाई उद्धार गर्ने प्रयास भइरहेको छ ।’ उद्धारका लागि कतार सरकारसँग पनि समन्वय भइरहेको जोशीले बताए । इजरायलस्थित नेपाली दूतावासले जारि गरिएको विज्ञप्तिमा भनिएको छ, ‘७ अक्टोबर २०२३ मा दक्षिणी ईजरायलको किबुज–अलुमिममा हमास समूहले आक्रमण गरी बन्धक बनाएर गाजातर्फ लगेकाहरु मध्येमा नेपाली विद्यार्थी विपिन जोशी पनि रहेको इजरायल डिफेन्स फोर्सका प्रवक्ताले जानकारी दिएका छन् ।’
तर दूतावासले विपिनको पछिल्लो अवस्थाबारे यकिन गर्न नसकिएको र उनी हालसम्म पनि सम्पर्कविहीन नै रहेको बताएको छ । दूतावासले विपिनको खोजी र उद्धारका लागि पहल भइरहेको जनाएको छ । यता, परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले भने विपिन गाजास्थित एक अस्पतालमा स्वस्थ अवस्थामा रहेको खबर प्राप्त भएकाले यसबारेमा पुष्टि हुने आधार खोजिरहेको बताइन् । उनले विपिनको रिहाइका लागि सम्बन्धित निकायसँग पहल भइरहेको जानकारी दिइन् । सुदूरपश्चिम विश्वविद्यालयको कृषि विज्ञान संकायमा अध्ययनरत विपिन सहितका ४९ विद्यार्थीहरु ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत गत भदौ २७ गते इजरायल गएका थिए । गत असोज २० गते किबुजस्थित कृषि फार्ममा हमासले गरेको आक्रमणमा परी १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो भने कञ्चनपुरको भीमदत्त नगरपालिका–३ का जोशी सम्पर्कविहीन भएका थिए । उनलाई हमास समूहले अपहरण गरेर बन्धक बनाएको अनुमान गरिएको थियो । नेपाल सरकारले विपिनको अवस्था पत्ता लगाउन र उनलाई सकुशल फिर्ता ल्याउन कूटनीतिक पहल जारी राखेको थियो । साथै अधिकारवादी अन्तर्राष्ट्रिय संस्थाहरुलाई पनि आग्रह गरेको थियो । हालै परराष्ट्रमन्त्री साउद कञ्चनपुर गएका बेला विपिनका आमा–बुवाले उनीसँग भेटेर विपिनको अवस्था पत्ता लगाउन भइरहेको प्रयासबारे जानकारी लिएका थिए ।
इजरायलको दक्षिणी क्षेत्र किबुज अलुमिममा अक्टोबर ७ मा हमास समूहले आक्रमण गरेपछि विपिनलाई बन्धक बनाएर लगेको थियो । इजरायली सुरक्षा फौज (आईडीएफ)ले सामाजिक सञ्जाल एक्समार्फत अक्टोबर ७ का दिन बिहान १० : ४२ देखि ११ : ०१ बीचको सीसीटीभी फुटेज भन्दै अल शिफा अस्पतालमा एक घाइतेलाई हमास समूहले लैजाँदै गरेको दृश्य सार्वजनिक गरेको छ । उक्त सीसीटीभी फुटेजमा बन्धक बनाइएका नेपाली नागरिक र थाई नागरिक रहेको आईडीएफले जनाएको छ । जसमा घाइते अवस्थाका एक बन्धकलाई हमास समूहका व्यक्तिहरुले समाएर अस्पताल भित्र लगिएको देखिन्छ भने अर्का एक जना पछिपछि आफैँ हिँड्दै गएका छन् ।
इजरायली सुरक्षा फौजका प्रवक्ता ड्यानियल हगारीले हमास समूहले बन्धक बनाएका सबैलाई सकुशल मुक्त गर्ने प्रयास भइरहेको जनाएका छन् । हमासले करिब २४० जनालाई बन्धक बनाएको इजरायल सरकारले बताएको छ । हमासको आक्रमणबाट करिब १२ सय जनाको मृत्यु भएको इजरायलले जनाएको छ । इजरालयले गरेको कारबाहीमा भने गाजामा १२ हजारभन्दा बढीको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।