Shares
Shares
काठमाडौँ । अधिकांस नेपालीको सपनाको शहर हो अमेरिका । अमेरिका जानको निमित्त हामि हाम्रो घर, सम्पत्ति /धन दौलत सबै दाउमा लगाएर आफु रित्तो हुन कुनै कसर बाकि छोड्दैनौ । किनकि हामीलाई अमेरिका जो पुग्नु छ । हुनपनि हामीलाई थाह भएर होस् या थाह नभई अमेरिकामा त बोटमै पैसा फल्छ जतिकै गर्छौ । यहि कारण अमेरिका छिर्ने सपनामा हामीले लाखौ रकम दलालीको हातमा सुम्पिन्छौ । अझ अहिले भिसा लगाएर अमेरिका जाने भन्दा अवैध बाटोबाट अमेरिका छिर्ने नेपालीको संख्या निकै बढ्दो छ । अनि अर्को कुरा सुरुमा खाडी मुलुक जाने १/२बर्ष त्याहा काम गरेर अमेरिका छिर्नेको जमात पनि निकै वाक्लो छ । यहि सन्दर्भमा हामीले अवैध बाटो भएर अमेरिका जादै गरेका नेपालीको मृत्यु /अथवा अमेरिकी प्रहरी हिरासतमा भन्ने समाचार सुनिरहेका छौ । वास्तवमै अमेरिका मोहले कसैलाई राम्रै गरेको छ तर धेरैले आफ्नो धनसम्पत्ति संगसंगै आफ्नो ज्यान पनि अकालमा गुमाईरहेका छन् । यस्तै अमेरिकामा आफुलाई सेटल गर्ने सपना बोकेका एक युवकले अकलामा आफ्नो ज्यान गुमाउनुपरेको छ ।
दलाललाई मोटो रकम बुझाएर विना भिसा अमेरिका पुगेका ३४ बर्षका नेपाली सुवास श्रेष्ठको अध्यागमन हिराशतमा रहस्यमय मृत्यु भएको छ । टेक्सासको कर्नेस काउन्टी इमिग्रेसन प्रोसेसिङ सेन्टरमा आइसको हिराशतमा रहेका श्रेष्ठको मृत्यु भएको अमेरिकाको इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट एजेन्सी आइसले पुष्टी गरेको छ । मृत्युको आधिकारिक कारण पत्ता लगाउन पोस्टमार्टम हुन बाँकी रहेको छ । नेपाली नागरिक श्रेष्ठ गत सेप्टेम्बर २ मा एरिजोनाको लुकभिल नजिकैबाट विना भिसा अमेरिका प्रवेश गरेका थिए । उनी अध्यागमन अधिकारीद्वारा निरीक्षण, भर्ना वा प्यारोल बिना नै अमेरिका प्रवेश गरेको आइसले जनाएको छ । यूएस बोर्डर पेट्रोलले उनलाई अध्यागमन र राष्ट्रियता ऐनको सेक्सन २१२ अन्तर्गत शीघ्र देशनिकालाका लागि सूचना र आदेश दिएको थियो । सेप्टेम्बर ९ मा यूएस बोर्डर पेट्रोलले श्रेष्ठलाई इन्फोर्समेन्ट एन्ड रिमुभल अपरेसन सान एन्टोनियोमा स्थानान्तरण गरेको थियो । त्यसपछि उनलाई उनलाई कर्नेस काउन्टी इमिग्रेसन प्रोसेसिङ सेन्टरमा हिरासतमा राखिएको थियो जहाँ उनको अध्यागमन मुद्दा जारी थियो ।
नोभेम्बर १३ मा इन्फोर्समेन्ट एन्ड रिमुभल अपरेसनलाई उनी अचेत भएकोबारे सूचित गरिएको थियो । मेडिकल सहायता पछि श्रेष्ठलाई मृत घोषणा गरिएको थियो । आइसको प्रोटोकलहरूसँग अनुरूप उनको मृत्युबारे होमल्याण्ड सेक्युरिटी, महानिरीक्षकको कार्यालय, र व्यावसायिक उत्तरदायित्वको आइसको कार्यालय लगायतमा उनको मृत्युको बारेमा सूचित गरिएको आइसले जनाएको छ । आइसले श्रेष्ठको निधन भएको वासिङ्गटन डीसीस्थित नेपाली दूतावासलाई जानकारी गराएको समेत जनाएको छ । त्यस्तै इन्फोर्समेन्ट एन्ड रिमुभल अपरेसन स्यान एन्टोनियोका कर्मचारीले आफन्तलाई सूचित गरेका छन् । आइसले आफ्नो हिरासतमा रहेका सबै सुरक्षित, सुरक्षित र मानवीय वातावरणमा बसोबास गर्ने सुनिश्चित गर्न प्रतिबद्ध रहेको बताएपनि श्रेष्ठको मृत्युबारे अनेक आशंका उब्जिएका छन् । श्रेष्ठ बाह्रबिसे नगरपालिका ८ सिन्धुपाल्चोकका स्थायी बासिन्दा हुन् । सन् १९८९ को जुन ४ मा जन्मिएका उनको मृत्युको कारण केही दिनमा सार्वजनिक हुने अपेक्षा गरिएको छ ।
नेपालमा बढ्दो बेरोजगारीका कारण देश छोड्ने युवाहरुको संख्या दिनप्रतिदिन बढिरहेको तथ्याङले देखाएको छ । देशमा बसेर केही गर्न नसकिने भन्दै युवायुवतीहरुले विदेश पलायन हुने गरेको पाइएको छ । चाहे खाडी देश गएर किन नहोस् जे गर्नु छ विदेशमै गएर गर्ने हो, देशमा गरी खाने बाटो छैन भन्दै देश छोड्नेहरुको ताँती लागेको छ । अहिले स्कुल र प्लस टु मा अध्ययन गरिरहेका बिद्यार्थीले पनि उच्च शिक्षको लागि अष्ट्रिलिया, अमेरिका, क्यानडा, यूके लगायतका देशमा गएर आफ्नो सुनौलो भविष्यको स्थापित गर्ने निर्णय लिइसकेका छन् । विदेश पलायनका निम्ति नेपाली युवाहरुमा यतिसम्मको भुत सवार छ की आफ्नो ज्यानको समेत प्रवाह नगरी ४० लाख देखि ८० लाख सम्मको खर्च गरेर गैरकानूनी रूपमा ३ देखि ६ महिनाको पैदल यात्रा गरी अमेरिका सम्म पुग्ने गरेका छन् । पनामा र कोलम्बिया बीचको भयानक जङ्गल खण्ड पार गरेर अमेरिका जाने आप्रवासीको संख्या यो वर्ष चार लाख नाघेको छ।
गत वर्षको तुलनामा यो संख्या ६२ प्रतिशतले बढी भएको पनामा सरकारले बिहीबार जनाएको हो । ड्यारियन ग्याप भएर अमेरिका जानु ज्यादै जोखिमपूर्ण मानिन्छ किनभने यो बाटोमा घना जङ्गल छ। जङ्गली जनावरको डर उत्तिकै छ भने विभिन्न किसिमका खोलानाला पार गर्नुपर्छ । जोखिम यतिमा समाप्त हुँदैन। आप्रवासीलाई लुट्न आपराधिक गिरोहहरू जङ्गलमा नै बसिरहेका हुन्छन् । भाग्यवश उनीहरू लुटिएनन् भने पनि ती गिरोहले सुरक्षित बाटो देखाइदिने नाममा आप्रवासीहरूबाट पैसा भने असुलेरै छाड्छन ।
८० लाख सम्म खर्च गरेर विदेश जान सक्ने नेपालीले नेपालमा नै त्यो पैसा लगानी गरि केही गरौं भने त्यसको प्रतीफलमा समय र लगानी गरेको पैसा बेकारमा डुवाउनु मात्रै हो । बरु त्यसमा अझ थप लगानी गरेर विदेश नै जानु बेस कमसेकम लगानी त बच्छ बच्छ त्यसमाथि भविष्प पनि उज्वल हुन्छ । हुन त ८० लाखसम्म खर्च गरेर विदेश जान सक्ने नेपालीले नेपालमा नै त्यो पैसा लगानी गरी केही गरौं भन्ने हो भने व्यापक सम्भावना हुन्छ । तर त्यत्रो पैसा एक्कैपटक कहाँबाट ल्याउनु ? तर एउटा सत्य के हो भने नेपालमै लगानी गर्छु भन्दा कसैले पैसा दिनेवाला छैन । तर विदेश जान्छु, अझ अमेरिका जान्छु भन्ने वित्तिकै ८० लाख निस्किहाल्छ । यो लगानीकर्ताहरुमा देखिएको विश्वास हो । नेपालमा व्यापार गर्नका लागि ऋण नदिने व्यक्तिले कोहि विदेश जान खोज्यो भने तुरुन्तै ऋण दिन्छ । अवैध रुपमा अमेरिका हिँड्न खोजेको व्यक्तिलाई समेत विश्वास गरेर समाजका व्यक्तिहरुले ऋण प्रवाह गरिरहेका छन् । हाम्रो सामाजिक मनोविज्ञानले यसमा ठूलो भूमिका खेलिरहेको छ । विदेश वा अमेरिका पुगेपछि त व्याजसहित ऋण फिर्ता पाइने आशमा लगानी भइरहेको छ । यिनै कारणले पनि होला नेपालीहरु देशमै लगानी गरेर केही गर्नुको सट्टा विदेशका लागि नै लगानी गर्न उचित ठानिरहेका छन् ।
Laliguras Media Network Pvt Ltd
Anamnagar–29, Kathmandau
Phone: :01-5923444
Email : [email protected]
सूचना तथा प्रसारण विभाग :१९३/0७३-७४
प्रेस काउन्सिल नेपाल सूचीकरण नंं. : ३२००/२०७८/०७९
Marketing: 01-5923444, 9851013209