Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

बाँदर नियन्त्रणमा ध्यान दिन कांग्रेस सांसद भण्डारीद्वारा सरकारको ध्यानाकर्षण

बाँदर नियन्त्रणमा ध्यान दिन कांग्रेस सांसद भण्डारीद्वारा सरकारको ध्यानाकर्षण

 

काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द भण्डारीले सरकारले बाँदर नियन्त्रणमा ध्यान दिन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद भण्डारीले बाँदर नियन्त्रणमा सरकारले ध्यान दिन नसकेको कारण जनताले प्रतिनिधि सभालाई बाँदर कोशेली पठाउन लागेको जानकारी गराए । ‘अहिले नेपालको सञ्चारमाध्यममा सडक विभागले काम गर्न सकेन, धुलैधुलो भयो भनेर काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले एक ट्रक धुलो पठाएको चर्चा छ। त्यसैगरी नेपाली जनताले हामीलाई निर्वाचित गरेर पठाए, उनीहरूले हामीलाई प्रश्न गरेका छन्– तिमी सदनमा जान्छौ, भुइँ मानिसको कुरा उठाउने ठाउँमा तिमीहरू झगडा गरेर समय बिताउँछौं,’ उनले भने, ‘जनताका कुरा उठाउँदैनौं।

अहिले पानी परेको छैन। मकै छरेको छ। भर्खर टुसा निस्कने बेलामा बाँदरहरू आएर जनतालाई दुःख दिइरहेका छन्। किसानहरूलाई अस्तव्यस्त बनाएका छन्।अहिले भन्दैछन्, कि अब हाम्रा कुरा नउठाउने, हामीले भोट नदिने भनेर बाँदर जम्मा गर्दैछन् रे! अब यो सदनलाई दिने भनेर!’ उनले भने ।