काठमाडौँ । सुदूरपश्चिमका स्पीनरले उत्कृष्ट प्रदर्शन गरेपछि जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग एनपीएलमा पहिलो हार व्यहोरेको छ । आज भएको खेलमा शीर्ष स्थानको जनकपुर दोस्रो स्थानको सुदूरपश्चिमसँग ७२ रनले पराजित भयो ।
सुदूरपश्चिमका बलरले घातक बलिङ सामु जनकपुरका ब्याटर निरिह हुँदा १२४ रनको लक्ष्य पछ्याएको जनकपुर १२।१ ओभरमा ५१ अलआउट भयो । सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरी, हर्मित सिंह र इशान पाण्डेले दुईदुई, सैफ अली जैव, स्कट कुगेलेइन र नरेन साउदले एकएक विकेट लिए । सुदूरपश्चिमका कुनै पनि बलर विकेटविहीन भएनन् । लगातार चार खेल जितेर अपराजित रहेको जनकपुरले सुदूर विरुद्ध बलिङमा राम्रो गरेपनि ब्याटिङमा भने निकै कमजोर प्रदर्शन ग¥यो । जनकपुरका जोसुआ ट्रोम्पले सर्वाधिक १३ रन जोडे । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । जनकपुर ओपनर अनिलकुमार शाह शुन्य, आसिफ शेख ४, लाहिरु मिलान्था ७, हर्ष थाकर ५, जिमी निशम ४, अरनिको यादव १, शेर मल्ल ०, ललित राजवंशी ४ र शुभ कंशाकार ० रनमा आउट भए । किशोर महत्तो शुन्य रनमा अविजित रहे । त्यसअघि टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२३ रनमा रोकिएको थियो ।
सुदूरपश्चिमका ओपनर विनोद भण्डारीले ३३ रनको योगदान दिए । उनी र सैफ अली जैबसँग पहिलो विकेटका लागि ५५ रनको साझेदारी गरेका थिए । सैफ २१ बलमा २१ रनमा आउट भएका थिए । त्यसपछि ठूलो साझेदारी हुन नसक्दा सुदूरपश्चिम सस्तोमै रोकिएको हो ।सुदूरपश्चिमका हर्मित सिंह १, ब्रान्डन म्याकमुलेन ११, स्कट कुगेलेइन आरिफ शेख ६, नरेन साउद ३, कप्तान दीपेन्द्रसिंह ऐरी शुन्य रनमै आउट भए , इशान पाण्डे १७ रनमा आउट भए । अभिनास बोहरा २ र नरेश बुढाएर ९ रनमा अविजित रहे । बलिङमा नेपाली बलर हाबी भए । नेपालका किशोर महत्तोले ४, अरनिको यादव र शेर मल्लले २–२ विकेट लिए । क्यानडाका हर्ष थाकरले एक विकेट लिए । ४ ओभर बलिङ गरेका किशोरले रन खर्चेर विकेट लिए । एनपीएलमा आजको दोस्रो खेलमा दिउँसो १ बजे काठमाण्डौ गुर्खाज र लुम्बिनी लायन्स खेल्दैछन् ।
क्रिकेट टिममा भइरहेको लगानी र आकर्षणले पनि नेपाली क्रिकेटप्रति सार्वजनिक चासो बढ्दो छ । त्रिवी क्रिकेट मैदानलाई अहिलेसम्मकै चिटिक्क बनाइएको छ । घरेलु क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगिता एनपीएलमा आठ वटा फ्रेञ्चाइज टिम विराटनगर किङ्स, जनकपुर बोल्ट्स, चितवन राइनोज, काठमाण्डौं गुर्खाज, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स,कर्णाली याक्स र सुदूरपश्चिम रोयल्सले प्रतिस्पर्धा गर्नेछन् । यो खेलको भारतीय चर्चित स्पोर्टस टीभी च्यानल स्टार स्पोर्टसले प्रत्यक्ष प्रशारण गरिरहेको छ । एक्सन स्पोर्टसको युटुव च्यालनमा पनि खेलको प्रशारण भइरहेको छ ।