Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

सोनाम ल्होछारको अवसरमा माओवादी अध्यक्ष प्रचण्डद्वारा शुभकामना व्यक्त

सोनाम ल्होछारको अवसरमा माओवादी अध्यक्ष प्रचण्डद्वारा शुभकामना व्यक्त

काठमाडौं, माघ १७ – तामाङ समुदायको महान् पर्व सोनाम ल्होछारका अवसरमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गरेका छन्।

शुभकामना सन्देशमा अध्यक्ष प्रचण्डले ल्होछार पर्व श्रम संस्कृति र प्रकृति पूजा गर्ने परम्परासँग जोडिएको महत्वपूर्ण चाड भएको उल्लेख गरेका छन्। उनले विभिन्न जाति तथा समुदायले आ–आफ्नो परम्परा अनुसार मनाउने ल्होछार पर्व सामाजिक एकता, धार्मिक सहिष्णुता, पारस्परिक सम्मान, तथा राष्ट्रिय एकताको बलियो आधार रहेको बताएका छन्।

उनका अनुसार यो पर्वमा मान्यजनबाट आशिर्वाद ग्रहण गर्नुका साथै परिवार तथा आफन्तको सुस्वास्थ्य र दीर्घायुको कामना गर्ने परम्परा छ। साथै, नेपाली समाजको विविध सांस्कृतिक धरोहरलाई उजागर गर्दै एक समुदायले अर्को समुदायको पहिचान र मौलिक परम्पराप्रति सम्मानभाव प्रकट गर्ने अवसरसमेत ल्होछार पर्वले प्रदान गर्छ।

नेपालको संविधानले विविधतामा आधारित राष्ट्रिय एकतालाई संस्थागत गर्दै बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विशेषता एवं भौगोलिक विविधताको संरक्षणलाई आत्मसात गरेको स्मरण गराउँदै अध्यक्ष प्रचण्डले नेपाली समाजभित्रका विभिन्न सभ्यता, भाषा, कला, संस्कृति, लिपि, भेषभूषा र सांस्कृतिक सम्पदाको सम्मान र प्रवर्द्धन भइरहेको उल्लेख गरेका छन्।

उनले लोकतन्त्र, सामाजिक न्याय, राष्ट्रिय एकता, स्वाधीनता, अखण्डता र देशभक्तिलाई नेपालको मौलिक विशेषता रहेको भन्दै सबै नेपाली नागरिकले यिनै मूल्य र मान्यताका आधारमा सहअस्तित्व, आपसी सद्भाव र सहिष्णुतालाई अझ बलियो बनाउनुपर्ने आवश्यकता औंल्याएका छन्।

अध्यक्ष प्रचण्डले भ्रष्टाचारको अन्त्य, सुशासनको प्रत्याभूति, सामाजिक न्याय, दिगो विकास र आर्थिक समृद्धि हासिल गर्न ल्होछार पर्वले प्रेरणा दिने विश्वास व्यक्त गर्दै पुनः सम्पूर्ण नेपालीहरूमा हार्दिक शुभकामना व्यक्त गरेका छन्।