काठमाडौँ । म्यानमारले अन्तर्राष्ट्रिय महिला च्याम्पियनशिप प्रतियोगिताको उपाधि जित्न सफल भएको छ । नेपालले १३ औं पटक उपविजेतामा चित्त बुझाउनु परेको छ ।
त्रिपुरेश्वरको दशरथ रङ्गशालामा हिजो भएको फाइनलमा नेपाल पाहुना टोली म्यानमारसँग २–० ले पराजित भएको हो ।
नेपाल यसअघि साफ महिला च्याम्पियनशिपमा ६, दक्षिण एशियाली खेलकुदमा तीन तथा वाफ, हिरो महिला गोल्डकप र नादेज्दा कपमा समान एकपल्ट उपविजेता बनेको थियो ।
नेपालले लिग चरणमा किर्गिस्तान र लेबनानलाई १–० ले हराएको थियो । म्यानमारसँग २–२ को बराबरी खेलेको थियो । म्यानमारले लिग चरणमा लेबनानलाई ३–१ ले र किर्गिस्तानलाई ५–० ले हराएको थियो ।
फिफा वरियतामा म्यानमार नेपालभन्दा ४८ स्थान माथि रहेको छ । म्यानमार ५५ र नेपाल १०३ स्थानमा रहेका छन् ।