Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

सगरमाथा आरोही संघद्वारा यति एयरलाइन्स र ह्याम्स हस्पिटलबीच आरोहीहरूको हितमा विशेष सम्झौता

सगरमाथा आरोही संघद्वारा यति एयरलाइन्स र ह्याम्स हस्पिटलबीच आरोहीहरूको हितमा विशेष सम्झौता

काठमाडौं, चैत ८ । नेपालको पर्यटन क्षेत्रको मेरुदण्ड मानिने पर्वतारोहण क्षेत्रलाई थप व्यवस्थित र आकर्षक बनाउने उद्देश्यसहित सगरमाथा आरोही संघले विश्व कीर्तिमानी आरोहीहरूको सम्मान, सुरक्षा र सेवामा विशेष छुट प्रदान गर्ने गरी यति एयरलाइन्स र ह्याम्स हस्पिटलसँग सम्झौताहरू गरेको छ।

सगरमाथा आरोही संघका अध्यक्ष माया शेर्पा र यति एयरलाइन्सका प्रमुख व्यापार अधिकृत युवराज बिष्टबीच हस्ताक्षरित सम्झौताअनुसार संघमा आवद्ध आरोही तथा उनीहरूका परिवारले यति एयरलाइन्सको उडानमा न्यूनतम मूल्यमा थप विशेष छुट पाउनेछन्।

त्यसैगरी, ह्याम्स हस्पिटलसँग भएको सम्झौताअनुसार संघको सिफारिसमा विश्व कीर्तिमानी आरोहीहरूले ह्याम्स हस्पिटलको सेवामा ५० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन्, भने आरोहीका परिवारलाई ३० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ। सम्झौतापत्रमा अध्यक्ष माया शेर्पा र ह्याम्स हस्पिटलका प्रमुख कार्यकारी अधिकृत विनोदकुमार ढुंगेलले हस्ताक्षर गरेका हुन् ।

सो सम्झौता कार्यक्रममा संघका प्रथम उपाध्यक्ष दिवस पोखरेल र महासचिव शिवबहादुर सापकोटाको उपस्थिति रहेको थियो।

सगरमाथा आरोही संघले विगत २५ वर्षदेखि नेपाली तथा अन्तर्राष्ट्रिय पर्वतारोहीहरूको हकहितका लागि उल्लेखनीय काम गर्दै आएको छ। संघले पर्यटन मन्त्रालयको टेक्निकल विंगका रूपमा काम गर्दै आएको छ साथै संघले मन्त्रालयका विभिन्न समितिमा समेत प्रतिनिधित्व गर्दै आएको छ।

संघले सन् २००८ बाट हिमाली क्षेत्रको सरसफाइ अभियान सञ्चालन गर्दै सन् २०११ मा “सगरमाथा रक्षा अभियान” सम्पन्न गरी सगरमाथामा रहेको ८.१ टन फोहोर व्यवस्थापन गरेको थियो। त्यसैगरी सगरमाथा आधार शिविरमा ऐतिहासिक क्याबिनेट बैठक आयोजना गर्नुका साथै जलवायु परिवर्तनको प्रभावबारे कोपेनहेगन, डेनमार्कमा आयोजित कोप १५ सम्मेलनमा नेपाली आरोहीहरूलाई प्रतिनिधित्व गराएको थियो।

नेपालको पर्यटन क्षेत्र, विशेष गरी हिमाल आरोहण, विदेशी मुद्रा आर्जन गर्ने प्रमुख क्षेत्रहरूमध्ये एक हो। हरेक वर्ष हजारौं विदेशी पर्यटक नेपालका हिमालहरू आरोहण गर्न आउँछन्, जसले सरकारलाई ठूलो मात्रामा राजस्व संकलनका साथै स्थानीय पर्यटन व्यवसायलाई चलायमान बनाउँनमा ठूलो मद्दत पुर्‍याएको छ ।

विदेशी पर्यटकहरूले पर्यटन विभागबाट आरोहण अनुमति लिनुपर्छ, जसबाट नेपाल सरकारले वार्षिक करोडौं आम्दानी गर्ने गरेको छ ।

पर्वतारोहण क्षेत्रले गाइड, भरिया, होटल व्यवसाय, हेलिकोप्टर उद्धार, पर्यटक सूचना केन्द्रहरू, पर्वतीय यातायात लगायत विभिन्न क्षेत्रमा रोजगारी सिर्जना गर्दै आइरहेको छ ।

विदेशी पर्यटकहरूले नेपालीको मौलिक हस्तकलाका सामग्री, हिमाली क्षेत्रमा उत्पादित जैविक खाद्य पदार्थहरुमा लोकल चिया, मह, ओर्गानिक कफी खरिद गर्ने भएकाले नेपालको कृषि क्षेत्रको प्रवद्र्धनमा समेत टेवा पुगेको छ ।

हिमालहरुको आरोहण शुल्क आम्दानीको एक हिस्सा हिमाली क्षेत्रको विकास, शिक्षा, स्वास्थ्य सेवा सुधारमा लगानी गरिने गरिएको छ ।

सगरमाथा आरोही संघले यति एयरलाइन्स र ह्याम्स हस्पिटलसँग गरेको सम्झौताले हिमाल आरोहण पर्यटनलाई अझ व्यवस्थित बनाउन मद्दत गर्ने विश्वास दुवै पक्षले लिइएको बताइएको छ ।

यति एयरलाइन्सले कीर्तिमानी आरोहीहरूलाई हवाई यात्रा गर्दा थप सुविधा प्रदान गर्ने र ह्याम्स हस्पिटलले आरोहीहरूलाई स्वास्थ्य सुरक्षाका विशेष सुविधा दिने भएपछि पर्यटन व्यवसायमा सकारात्मक प्रभाव पर्ने संघका अध्यक्ष माया शेर्पाले बताइन्।

सगरमाथा आरोही संघले विगत २५ वर्षमा आरोहीहरूको हित र पर्यटन प्रवर्द्धनका लागि महत्वपूर्ण योगदान पुर्‍याएको छ। यति एयरलाइन्स र ह्याम्स हस्पिटलसँगको यो सम्झौताले आरोहीहरूलाई थप सुविधा प्रदान गर्दै नेपाल पर्यटन क्षेत्रको प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका  खेल्ने संघका महासचिव शिवबहादुर सापकोटाले बताए ।

नेपाल सरकार, निजी क्षेत्र, र पर्वतारोहण संघबीचको सहकार्यले हिमाल आरोहण पर्यटनलाई थप व्यवस्थित र आकर्षक बनाउँदै देशको राजश्व संकलन वृद्धि गर्ने अपेक्षा गरिएको छ।