Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

बालेन शाहले २०८२ सालमा २ हजार ८२ जनालाई सिप सिकाउने

बालेन शाहले २०८२ सालमा २ हजार ८२ जनालाई सिप सिकाउने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले यस बर्षको २०८२ सालमा २०८२ जनालाई सिप सिकाउने भएका छन । मेयर बालेन शाहले जेठ ७ गतेदेखि टुँडिखेलमा ‘सीप मेला २०८२’ आयोजना गर्ने भएको छन । मेलामा २ हजार ८२ जनालाई सहभागी गराउने लक्ष्य रहेको महानगर प्रमुख बालेन्द्र शाह (बालेन) ले बताए।सीपयुक्त जनशक्ति भए मात्र सुरक्षित रोजगारी हुने, उत्पादन वृद्धिमा योगदान पुग्ने र यस चक्रबाट देशको आर्थिक समृद्धिमा योगदान पुग्ने भन्दै मेला आयोजना गर्न लागिएको उनको भनाइ छ।मेलाको पहिलो संस्करण श्रमिक दिवस २०८१ का दिनदेखि टुँडिखेलमा सुरु भएको थियो ।

त्यस संस्करणमा तालिमका लागि ६८ हजार ८ सय ६६ जनाले आवेदन दिनु भएको थियो । मेलाबाट विभिन्न विधामा २ हजार ८१ जना युवाहरुलाई सिपमूलक तालिम प्रदान गर्ने लक्ष्य राखिएको थियो । त्यसमा लक्ष्यभन्दा धेरै २ हजार ५ सय ७५ जनाले तालिम प्रदान गरिएको थियो । यसरी तालिम प्राप्त प्रशिक्षार्थी रोजगार क्षेत्रमा आवद्ध हुनुभएको, केही प्रशिक्षार्थी स्वरोजगार बन्नु भएको छ । रोजगार र स्वरोजगारमा आवद्ध नहुनु भएका र महानगरपालिकाको सम्पर्कमा रहनुभएका जनशक्तिलाई उद्योग तथा कम्पनीहरुसँग सहकार्य गरेर महानगरपालिकाले अन द जब ट्रेनिङ् गराइरहेको छ । एकातिर श्रम बजारमा सिपयुक्त जनशक्तिको माग र आपूर्ति बिच खाडल छ । अर्कोतर्फ युवाहरु देशमा रोजगारीको अवसर महसुस गर्न नसकेर वैदेशिक रोजगारीमा जाने गरेका छन् । यसरी क्रमशः पलायनको बाटोमा लागेको मानव पुँजीलाई बचाउन समेत मेला लाभदायी हुने अपेक्षा गरिएको छ ।

यसका लागि मेलाका अतिरिक्त नियमित तालिमहरु सञ्चालन भइरहेका छन् । आन्तरिक रुपमै रोजगारीका थुप्रै सम्भावना छन् भन्ने देखाउनु, सिप नभएर अनौपचारिक क्षेत्रको अर्थतन्त्रमा बसिरहेका जनशक्तिलाई रोजगारी र उद्यमका अवसरबाट औपचारिक अर्थतन्त्रमा रुपान्तरण गराउनु मेलाको लक्ष्य हो । ‘शिक्षालाई सिपसँग’, ‘सिपलाई श्रमसँग’ र ‘श्रमलाई उत्पादनसँग’ जोडेर सिप नहुनेलाई सिपयुक्त बनाउनु, सिप भएकालाई रोजगार तथा स्वरोजगार बनाउनु, रोजगारमा भएका तर सिप नभएकाहरुको व्यावसायिक स्तर वृद्धि गराएर आयमा वृद्धि गराउनु तालिम सञ्चालनको मुख्य लक्ष्य हो । गएको वर्ष फाराम भरेर तालिम लिन नपाउनु भएका आवेदक, महानगरमा स्थायी वा अस्थायी रुपमा बसोबास गरिरहनु भएका, स्यानिटरी ल्याण्डफिल साइट प्रभावित क्षेत्रका बासिन्दा, फरक क्षमता भएका व्यक्ति, विगतमा सडक व्यापार, ठेलामा ब्यापार गरेका व्यक्तिहरुलाई तालिमको प्राथमिकतामा राखिएको छ ।

तालिममा सबै नेपाली नागरिकलाई सहभागी हुने अवसर प्रदान गरिनेछ । वातावरण व्यवस्थापन विभागका प्रमुख सरिता राईका अनुसार धुनिवेँसी नगरपालिकाको वडा नम्बर १, ३ र ४ तथा ककनी गाउँपालिकाका वडा नम्बर १, २ र ३ लाई ल्याण्डफिल साइटका प्रत्यक्ष प्रभावित वडा हुन् । यस वर्ष १० वटा विधाका ३० वटा पेशासँग सम्बन्धित विषयमा तालिम हुनेछन् । यी विधा र विषय छनोट उद्योग, श्रम बजार र समाजको माग अध्ययनलाई आधार बनाइएको छ ।