Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

सुपरहिट गीत निर्देशकबाट चलचित्र कोरियोग्राफरसम्म: स्मृति तिमिल्सिना ‘गुरुआमा’को प्रेरणादायी यात्रा

सुपरहिट गीत निर्देशकबाट चलचित्र कोरियोग्राफरसम्म: स्मृति तिमिल्सिना ‘गुरुआमा’को प्रेरणादायी यात्रा

नेपाली सांगीतिक क्षेत्रकी एक चम्किलो नाम स्मृति तिमिल्सिना ‘गुरुआमा’ पछिल्लो समय चलचित्र क्षेत्रमा पनि आफ्नो प्रतिभा देखाउन थाल्नुभएको छ। हजारौं लोक तथा दोहोरी गीतहरूको निर्देशन गरिसकेकी गुरुआमाले अहिले चलचित्र कोशेढुंगा को गीतको कोरियोग्राफीमार्फत् सिल्वर स्क्रिनमा पाइला टेकेकी हुन्। यो चलचित्रको गीतले हालै चर्चा पाउन थालेपछि उनी पुनः स्रष्टा र दर्शकबीच चर्चाको विषय बनेकी छन्।

एक समय थियो, जब स्मृति तिमिल्सिना चर्चित निर्देशक शंकर बिसीले निर्देशन गर्ने गीतहरूमा कोरस डान्सरको रुपमा सहभागी हुन्थिन्। त्यहीँबाट सुरू भएको यात्राले उनलाई शंकर बिसीकै सह–निर्देशक बनायो। समयसँगै अनुभव बटुल्दै उनी स्वतन्त्र निर्देशकको रूपमा स्थापित भइन् र अहिलेको लोकप्रिय कोरियोग्राफर र निर्देशकका रूपमा आफ्नो पहिचान बनाइसकेकी छन्। उनी आज पनि शंकर बिसीलाई आफ्नो मार्गदर्शक र सृजनात्मक गुरु मान्छिन्।

उनले निर्देशन गरेका सयौं गीतहरू दर्शकमाझ अत्यन्तै लोकप्रिय बनेका छन्। तीमध्ये केही त करोड क्लब मा समेत प्रवेश गरिसकेका छन्। लोक संगीतमा उनको विशिष्ट शैली, गीतको भाव अनुसारको नृत्य संयोजन र सांस्कृतिक सम्प्रेषणले उनलाई "गुरुआमा" को उपाधिसमेत दिलायो, जुन उपनामले अहिले उनी सांगीतिक क्षेत्रमै चिनिन्छिन्।

नेपाली गीत–संगीतलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउने प्रयत्न पनि स्मृति तिमिल्सिनाले थालिसकेकी छन्। केही दिनअघि मात्र उनी अफ्रिकाको भ्रमणमा गएकी थिइन्, जहाँ उनले अफ्रिकन नागरिकलाई नेपाली गीतमा नचाएर सांस्कृतिक आदानप्रदानको अद्वितीय नमुना प्रस्तुत गरिन्। यो प्रयासले नेपाली गीत-संगीतलाई अन्तर्राष्ट्रिय पहुँच दिने विश्वास गरिएको छ।

स्मृति तिमिल्सिनाको कथा केवल संघर्षको मात्र होइन, सफलता र निरन्तर परिश्रमको प्रतीक पनि हो। संगीतमार्फत् सांस्कृतिक संरक्षण र प्रवर्द्धनमा उनले पुर्‍याएको योगदान प्रशंसायोग्य छ। अब जब उनले चलचित्रमा पाइला राखेकी छन्, दर्शक र सर्जक समुदाय उनीबाट अझ नयाँ र सशक्त सिर्जनाको अपेक्षा गर्न थालेका छन्। "कोशेढुंगा" को गीतबाट उनले कोरियोग्राफरको रूपमा जुन यात्रा शुरू गरेकी छन्, त्यो नेपाली चलचित्र क्षेत्रका लागि पनि प्रेरणादायी बन्नेमा कुनै शंका छैन।