काठमाडौं । सरकारले सवारी साधनमा अंग्रेजी लिपिमा मात्र एम्बोस्ड नम्बरप्लेट अनिवार्य गर्ने निर्णय गरेकोप्रति नागरिक शक्ति, नेपालले आपत्ति जनाएको छ । संगठनले विज्ञप्ति जारी गर्दै यस्तो निर्णयले नेपाली भाषा, लिपि र राष्ट्रिय पहिचानमाथि प्रहार गरेको आरोप लगाएको हो ।
नागरिक शक्ति नेपालका महासचिव सुबास प्रसाद पाण्डेद्वारा जारी विज्ञप्तिमा संविधानले नेपाली भाषा देवनागरी लिपिलाई सरकारी कामकाजको भाषा मानेको हुँदा नम्बरप्लेटमा देवनागरी प्रयोग नगर्नु संविधानविपरीत रहेको उल्लेख गरिएको छ ।
संगठनले सवारी साधनका सबै नम्बरप्लेटमा देवनागरीमा नेपाली शब्द र अंक अनिवार्य गर्न, हालको अंग्रेजी लिपिमा बनेका नम्बरप्लेट फिर्ता गरी नयाँ वितरण गर्न, सम्पूर्ण अभिलेख नेपाली भाषामा राख्न, विदेशी कम्पनीमार्फत भएको खर्च सार्वजनिक गर्न र छानबिन गराउन माग गरेको छ । यस्ता मागहरू पूरा नभए कानुनी र जनदबाबका कार्यक्रम गर्न बाध्य हुने चेतावनीसमेत संगठनले दिएको छ ।
