गुल्मी । धार्मिक, ऐतिहासिक र प्राकृतिक सौन्दर्यले भरिपूर्ण गुल्मीको रेसुंगा क्षेत्रमा साहसिक पर्यटन विकासका लागि नयाँ संरचनाहरु निर्माण भइरहेको छ । रेसुंगा नगरपालिकाको गर्जुरा क्षेत्रमा जीपलाइन र स्काइ साइकिलिङ जस्ता आधुनिक पर्यटकीय संरचना बनाउन थालिएको हो । रेसुंगा नगरपालिकाका अनुसार, करिब १ करोड २५ लाख रुपैयाँ लागतमा निर्माण भइरहेको यस परियोजनाको जिम्मा खनाल एन्फ्रा प्रालिले लिएको छ ।
निर्माणाधीन जीपलाइन ४२५ मिटर लामो हुनेछ भने स्काइ साइकिलिङ १८० मिटर लम्बाइको बन्नेछ । दुवै संरचना साहसिक खेलमा रुचि राख्ने पर्यटकलाई आकर्षित गर्ने लक्ष्यका साथ निर्माण गरिँदैछ । आगामी पुस मसान्तसम्म निर्माण सम्पन्न गर्ने योजना रहेको नगरपालिकाले जानकारी दिएको छ ।
यसअघि गर्जुरा क्षेत्रमा आकर्षक पार्क निर्माण भइसकेको छ । उक्त पार्क अवलोकनका लागि दैनिक सयौँ आन्तरिक पर्यटक आउने गरेका छन् । जीपलाइन र स्काइ साइकिलिङ सञ्चालनमा आएपछि यस क्षेत्रको पर्यटकीय चहलपहल थप बढ्ने निश्चित छ । नगरपालिकाले पर्यटनलाई आर्थिक विकासको प्रमुख आधार बनाउने लक्ष्यसहित यस्ता परियोजना अघि बढाएको हो ।
रेसुंगा नगरपालिकाका मेयर खिलध्वज पन्थीका अनुसार, धार्मिक र सांस्कृतिक महत्त्व बोकेको रेसुंगालाई अब साहसिक पर्यटनको केन्द्रका रूपमा पनि स्थापित गर्न लागिएको छ । “रेसुंगालाई पर्यटकीय गन्तव्यका रूपमा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा चिनाउन यस्ता संरचना अत्यावश्यक छन्,” मेयर पन्थीले बताए । उनका अनुसार, नगरपालिकाले सञ्चालन गरेको ‘जाउँ हिँड रेसुंगा’ अभियानले यसअघि पनि ठूलो संख्यामा पर्यटक आकर्षित गरेको छ । अब नयाँ परियोजनाले त्यस अभियानलाई थप प्रभावकारी बनाउन सहयोग गर्नेछ ।
विशेषगरी साहसिक पर्यटनले युवापुस्तालाई मात्र आकर्षित गर्दैन, यसले स्थानीय अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पार्ने अनुमान गरिएको छ । गुल्मीमा बन्ने जीपलाइन र स्काइ साइकिलिङले पनि ठूलो सम्भावना बोकेको छ । यसले केवल आन्तरिक मात्र होइन, बाह्य पर्यटकलाई समेत आकर्षित गर्ने क्षमता राख्छ ।धार्मिक पर्यटन र प्राकृतिक सौन्दर्यका कारण पहिल्यै लोकप्रिय बनेको रेसुंगा, साहसिक पर्यटनका नयाँ संरचना जोडिएपछि अझ आकर्षक गन्तव्य बन्ने निश्चित छ ।
रेसुंगा नगरपालिकाले अघि सारेका यी परियोजनाहरु केवल संरचना निर्माणमा मात्र सीमित नभई, सम्पूर्ण नगरलाई पर्यटनबाट परिचित गराउने दीर्घकालीन उदेश्य छ ।