काठमाडौँ । सरकार र उखु किसानबीच शुक्रबार सिंहदरबारमा भएको वार्ता निष्कर्षविहीन भएको छ। उखु किसान संघर्ष समितिका प्रवक्ता उमेशचन्द्र यादवका अनुसार वार्तामा कुनै ठोस सहमति जुट्न नसकेको हो ।
वार्ताका क्रममा कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले केही दिनका लागि आन्दोलनका कार्यक्रम रोक्न आग्रह गरे पनि संघर्ष समितिले आन्दोलन नरोक्ने तर यसको स्वरूप परिवर्तन गर्न सकिने स्पष्ट पारेको प्रवक्ता यादवले जानकारी दिए।
किसानहरूले प्रतिक्विन्टल ७० रुपैयाँका दरले अनुदान उपलब्ध गराउनुपर्ने माग राखेका छन्। यादवका अनुसार कृषि मन्त्रालयले उखु किसानका लागि वार्षिक बजेटमै २ अर्ब रुपैयाँ अनुदानका लागि छुट्याए पनि अर्थ मन्त्रालयले सो रकम रोकेको आरोप किसान पक्षले लगाएको छ।
प्रवक्ता यादवले सरकारसँग भएको अघिल्लो सहमतिअनुसार ७५ करोड रुपैयाँ भुक्तानी भइसकेको बताउँदै दसैँअगाडि अर्को ७५ करोड रुपैयाँ अनिवार्य रूपमा निकासा हुनुपर्ने बताइएको छ। संघर्ष समितिले आन्दोलनको आगामी चरणबारे शनिबार बिहान ११ बजे माइतीघर मण्डलामा पत्रकार सम्मेलन गरी जानकारी दिने जनाएको छ।