रूपन्देही-३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. लेखजंग थापाले आफ्नो निजी जीवनलाई लिएर मिडियामा आएका ‘डिभोर्स नगरी दोस्रो विवाह गरेको’ भन्ने समाचार झुटो भएको दाबी गर्दै प्रमाणसहित खण्डन गरेका छन्।
थापाले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका विचारमा उनले आफ्नो पारिवारिक जीवन न गैरकानुनी रहेको न समस्याग्रस्त रहेको स्पष्ट पारेका छन्। उनका अनुसार, आफू दुई पटक विवाह गरेको तथ्य सत्य भए पनि, पहिलो सम्बन्ध कानुनी रूपमा अन्त्य भइसकेको र त्यसबाट भएको सन्तानलाई पूर्वपत्नीसँग मिलेर साझा अभिभावकत्व दिइरहेको बताएका छन्।
उनले लेखेका छन्, “परिस्थितिका कारण दुई पटक बिहे गरेको कुरा जति सत्य हो, त्यति नै सत्य मेरो सम्बन्धविच्छेद पनि हो। सम्बन्ध टुट्दा पनि सन्तानको भविष्यमा असर नपरोस् भन्ने सोचका साथ पूर्वपत्नीलाई सम्मानपूर्वक स्वीकार्दै मिलेर सन्तानको अभिभावकत्व लिएको हुँ।”
थापाले आफ्नो निजी जीवनलाई लिएर भइरहेको आक्रमण व्यक्तिगत नभई रास्वपामाथि भएको सुनियोजित हमला भएको आरोप लगाए। उनले थपे, “माथि भएको यो आक्रमण मेरो जीवनमाथि होइन, सुसंस्कृत राजनीति गर्न खोज्ने रास्वपामाथि भएको हो।”
पार्टीलाई आफूले सम्पूर्ण सत्य जानकारी गराइसकेको र पार्टी नेतृत्वले कानुनी परामर्शसहित उम्मेदवार छनोटमा सामेल गरेको तथ्य उनले प्रष्ट पारे।
१४ वर्षदेखि न्युरोचिकित्सकका रूपमा पेशागत यात्रा तय गरेका थापाले हजारौँ बालबालिकासँगको अनुभवका आधारमा परिवार विघटन भए पनि बच्चाको मनोविज्ञानमा असर नपर्ने वातावरण बनाउनुपर्नेमा जोड दिएका छन्।
रूपान्तरणकारी राजनीति गर्ने अभियानमा आफू अघि बढेको बताउँदै थापाले भने, “म नेता बन्न होइन, देश बदल्ने अभियानको सहयात्री बन्न आएको हुँ। पार्टीले गर्ने कुनै पनि निर्णयलाई सहर्ष स्वीकार गर्नेछु।”
उनको भनाइअनुसार, आफूलाई उम्मेदवारको रूपमा मात्र नभई रूपन्देही-३ का जनतासहित सम्पूर्ण नेपाली नै वास्तविक उम्मेदवार हुन्।उनले डिभोर्स गरेको प्रेपर पनि सामाजिक संजलामै पोष्ट गरेका छन।