Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण:सामाजिक सञ्जाल बन्द गर्ने निर्णयप्रति असहमति

नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण:सामाजिक सञ्जाल बन्द गर्ने निर्णयप्रति असहमति

 

काठमाडौं । नेपाल पत्रकार महासंघले सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णयप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै उक्त निर्णय अभिव्यक्ति तथा प्रेस स्वतन्त्रतामाथि प्रत्यक्ष हमला भएको बताएको छ।

महासंघका महासचिव रामप्रसाद दाहालद्वारा आज जारी गरिएको प्रेस विज्ञप्तिमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा दर्ता तथा सूचीकरण नभएका सामाजिक सञ्जाल बिहीबारदेखि बन्द गर्ने निर्णयप्रति कडा असहमति व्यक्त गरिएको छ। महासंघको भनाइमा यस्तो कदमले न केवल प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई संकुचित बनाउनेछ, तर नागरिकको सूचनाको हकसमेत कुण्ठित हुनेछ।

विज्ञप्तिमा भनिएको छ, कुनै विकल्पबिना सामाजिक सञ्जाल बन्द गर्दा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा संकुचन आउनेमात्र नभई नागरिकको सूचनाको हकसमेत प्रभावित हुनसक्ने पक्षलाई सरकारले ध्यान दिन नसकेकोमा महासंघ आश्चर्य प्रकट गर्दछ।

महासंघले सामाजिक सञ्जाल नियमनको आवश्यकता स्वीकार गरे पनि, यसलाई प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतालाई असर पुर्‍याउने ढंगमा लागू गर्नु अनुचित रहेको स्पष्ट पारेको छ। विज्ञप्तिमा भनिएको छ, महासंघ प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा असर पर्ने कुनै पनि माध्यमको नियन्त्रणलाई कदापि स्वीकार गर्न सक्दैन।

महासंघले तत्काल सामाजिक सञ्जालमाथिको नियन्त्रण हटाउन सरकार र सम्बद्ध निकायसँग जोडदार माग गर्दै संवैधानिक अधिकारहरूको संरक्षणमा सरकार जिम्मेवार बन्नुपर्ने चेतावनीसमेत दिएको छ।