काठमाडौँ । नेपाल सरकारले सामाजिक सञ्जालहरूलाई नियमन गर्ने उद्देश्यले अघि सारेको दर्ता प्रक्रिया अन्तर्गत फेसबुक सञ्चालक कम्पनी मेटा नेपाल सरकारको सम्पर्कमा आएको छ।
सूचना अनुसार मेटाका प्रतिनिधिले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग सम्पर्क गर्दै कम्पनी दर्ताका लागि आवश्यक पर्ने कागजातहरूको विवरण माग गरेका छन्। मन्त्रालयका सहसचिव तथा प्रवक्ता गजेन्द्रकुमार ठाकुरका अनुसार मेटाका प्रतिनिधिले बुधबार साँझ पौने ५ बजे मन्त्रीका विज्ञ सल्लाहकार शालिकराम पराजुलीलाई इमेल पठाएर आवश्यक कागजातहरूको विवरण माग गरेका थिए।
"इमेल प्राप्त भएको ५ मिनेटभित्रै हामीले सामाजिक सञ्जाल दर्ताका लागि आवश्यक पर्ने सम्पूर्ण कागजातहरूको विवरण पठाएका छौं," सहसचिव ठाकुरले बताए।
यस घटनाले फेसबुक नेपालमा बन्द हुने आशंकालाई अन्त्य गर्दै अब नियमित रूपमा सञ्चालनमा रहने संकेत दिएको छ।
यसअघि ओली नेतृत्वको सरकारले सामाजिक सञ्जालहरूलाई अनिवार्य रूपमा दर्ता गराउन आह्वान गरेको थियो। तर, धेरै जसो प्लेटफर्महरूले सरकारी आग्रहलाई बेवास्ता गरेपछि सरकारले सूचीकृत नभएका सामाजिक सञ्जालहरू क्रमशः बन्द गर्ने निर्णय गरेको थियो।
यस निर्णयसँगै मेटाले संवादको बाटो रोजेपछि सामाजिक सञ्जाल नियमनमा सरकारको कदमले सार्थकता पाउँदै गएको देखिन्छ। अबका दिनमा अन्य सामाजिक सञ्जालहरूले पनि आवश्यक प्रक्रिया पुरा गरेर नेपालको कानुनी दायराभित्र आउनु पर्ने अपेक्षा गरिएको छ।