काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले भर्चुअल प्राइभेट नेटवर्क भीपीएन को प्रयोग नगर्न नागरिकहरूलाई आग्रह गरेको छ। मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै असुरक्षित, अनाधिकृत र जोखिमयुक्त भीपीएन सेवा प्रयोग नगर्न अनुरोध गरेको हो।
सरकारले सूचीकरण नभएका सामाजिक सञ्जाल प्लेटफर्महरूमा पहुँच अवरुद्ध गरेपछि धेरै प्रयोगकर्ताहरूले प्रतिबन्धित प्लेटफर्महरूमा पहुँचका लागि भीपीएन प्रयोग गर्न थालेका छन्। यसै सन्दर्भमा मन्त्रालयले नागरिकलाई सतर्क रहन अपिल गरेको हो।
भीपीएन एक प्रविधि हो जसले इन्टरनेट प्रयोगकर्ताको वास्तविक ठेगाना आईपी एड्रेस लुकाएर अन्य देश वा स्थानबाट जस्तै देखिन्छ। यसरी प्रयोगकर्ताहरूले देशमा प्रतिबन्धित वेबसाइटहरू वा एपहरू सजिलै चलाउन सक्दछन्। मन्त्रालयको भनाइमा यस्तो प्रविधिको प्रयोगले सुरक्षामा खतरा उत्पन्न गर्न सक्छ र कानुनी दृष्टिकोणले समेत अनाधिकृत ठहरिन्छ।
मन्त्रालयका अनुसार सरकारले सामाजिक सञ्जाल प्लेटफर्महरूलाई निषेध, नियन्त्रण वा सङ्कुचन गर्न नभई, स्वनियमनको माध्यमबाट मर्यादित र जवाफदेही प्रयोगको वातावरण बनाउन खोजेको हो।