काठमाडौं, नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले ‘जेन–जी’ पुस्ताको आन्दोलनपछि उत्पन्न परिस्थितिमा देशलाई शान्ति र पुनर्निर्माणको दिशातर्फ अघि बढाउन सबै पक्ष संयमता र एकताको साथ प्रस्तुत हुनुपर्ने बताएका छन्।
आज एक संयुक्त विज्ञप्ति जारी गर्दै दुई महामन्त्रीले भदौ २३ र २४ गते भएका घटनापछि उत्पन्न संवेदनशील अवस्थालाई ध्यानमा राख्दै विधिवत परामर्श, संवाद र लोकतान्त्रिक माध्यमबाट मात्र समस्याको समाधान खोज्न सकिने बताएका छन्। उनीहरूले देशलाई अराजकतामा धकेल्ने कुनै पनि विधिविहीन कदमले स्थिति थप जटिल बनाउने चेतावनी दिएका छन्।
महामन्त्री थापा र शर्माले चुनाव र शासन सञ्चालनका लागि नयाँ राजनीतिक संरचना निर्माण गर्दा संवैधानिक रिक्तता नआओस् भन्ने सुनिश्चित गर्दै लोकतान्त्रिक प्रक्रिया र वैधानिक उपायहरूलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन्।