नयाँ सरकार गठनसँगै मन्त्री पदका लागि तानातान चलिरहेका बेला पूर्व डिआईजी रमेश खरेललाई गृहमन्त्रीको जिम्मेवारी दिनु उपयुक्त हुने जनस्तरमा विश्वास बढ्दै गएको छ। खरेलले प्रहरी सेवामा रहँदा देखाएको इमान्दारिता, शून्य सहिष्णुता (Zero Tolerance) नीति, अख्तियारविरुद्धको कडा कदम र अपराध नियन्त्रणमा देखाएको दृढताका कारण उनलाई ‘कडा इमान्दार अधिकारी’को छवि मिलेको छ।
उनको यही व्यक्तित्वले गर्दा गृह मन्त्रालय जस्तो संवेदनशील मन्त्रालयमा उनी सर्वोत्कृष्ट उम्मेदवार हुने जनताको धारणा छ। संघीय संसद् निर्वाचनमा उनले काठमाडौँ क्षेत्र नं. १(२) बाट स्वतन्त्र उम्मेदवारको हैसियतमा उठेर उल्लेखनीय मत ल्याए पनि अलिकति अन्तरले पराजित भएका थिए। जित हासिल गर्न नसके पनि जनताले दिएको साथले उनको लोकप्रियता अझ प्रष्टिएको थियो।
राजनीतिक दलका नेताहरू मन्त्री पदका लागि भागबण्डा गर्दै हिँड्दा आम नागरिकले भने “गृहमन्त्रीमा रमेश खरेल नै उपयुक्त पात्र” भनेर आवाज उठाइरहेका छन्। अपराध नियन्त्रण, भष्ट्राचार नियन्त्रण र सुशासन कायम गर्न सक्षम व्यक्तिका रूपमा उनीप्रति आशा गरिएको छ। यदि रमेश खरेललाई गृहमन्त्रीको जिम्मेवारी दिइयो भने गृह प्रशासनमा आमूल सुधार हुने धेरैको विश्वास छ।