काठमाडौं, गृहमन्त्री तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले विदेशमा बसोबास गर्ने नेपाली नागरिकहरूलाई पनि मतदानको अवसर उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताएका छन्।
बिहीबार निर्वाचन आयोगमा भएको छलफलमा भाग लिँदै मन्त्री अर्यालले भने, “सर्वोच्च अदालतको आदेशअनुसार परदेशी नेपालीहरूले पनि कम्तीमा समानुपातिक प्रणाली अन्तर्गत मतदान गर्न पाउनु पर्छ। यो अधिकार अब व्यवहारमा लागू गर्नुपर्छ।”
उनले टेक्नोलोजीको प्रयोगमार्फत जहाँ सम्भव हुन्छ, मतदान प्रक्रिया सरल र समावेशी बनाउन पहल गर्ने बताउँदै, प्रविधि उपलब्ध नभएका मुलुकहरूमा नेपाली दूतावासमार्फत वैकल्पिक प्रणाली अपनाउन सकिने धारणा राखे।
‘प्रविधिको प्रयोग गरेर युवालाई राजनीतिको मूलधारमा ल्याउनुपर्छ’
गृहमन्त्री अर्यालले मतदान व्यवस्थाको अभावले विदेशमा रहेका लाखौं नेपाली युवा राजनीतिक अधिकारबाट वञ्चित हुनु नहुने स्पष्ट पारे। “हामी जहाँ दूतावास छ, त्यहीँबाट प्रक्रिया थाल्न सक्छौं,” उनले भने, “प्रविधिको प्रयोगमार्फत युवालाई राजनीतिको मूलधारमा ल्याउने यो उपयुक्त समय हो।”
उनले नेपाल सरकार आफ्नो तर्फबाट आवश्यक सबै तयारी गर्न तयार रहेको भन्दै निर्वाचन आयोगसँग पनि सहकार्यको अपेक्षा व्यक्त गरे।